logo
२०८१ मंसिर १५ शनिवार



स्वास्थ्यमा कर्मचारी हेरफेर

खुला |


स्वास्थ्यमा कर्मचारी हेरफेर


गोरखापत्र समाचारदाता

काठमाडौंँ, फागुन १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माथिल्लो तहका कर्मचारीको व्यापक हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको मन्त्रीस्तरीय निर्णय अनुसार कर्मचारीको हेरफेर गरिएको हो ।
मन्त्री ढकालका निजी सचिव लीला पौडेलले मन्त्रीस्तरीय निर्णय गरी विभिन्न अस्पतालका निर्देशक, विभागका निर्देशक पदमा हेरफेर गरिएको जानकारी दिनुभयो ।
पौडेलका अनुसार स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी महेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ । यसअघि उहाँ स्वास्थ्य मन्त्रालयमा हुनुहुन्थ्यो । विभागको महानिर्देशक डा. रोशन पोखरेललाई मन्त्रालय ल्याइएको छ ।
मन्त्रालयमा श्रेष्ठले सम्हाल्दै आएको समन्वय महाशाखामा नीति योजना तथा अनुगमन महाशाखाका डा. विकास देवकोटालाई जिम्मा दिइएको छ । नीति योजनामा महाशाखामा स्वास्थ्य विभागमा महानिर्देशक भइसक्नुभएका डा. गुणराज लोहनी आउनुभएको छ । व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखाको जिम्मेवारी चूडामणि भण्डारीलाई दिइएको छ ।
त्यसैगरी जनसङ्ख्या महाशाखाको प्रमुखका रूपमा इन्द्रमणि पोखरेललाई दिइएको छ । उहाँ शिक्षा मन्त्रालयबाट पदस्थापन भएर स्वास्थ्य मन्त्रालय आउनुभएको हो । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुखमा डा. सन्तोष पौडेललाई नियुक्ति गरिएको छ । उहाँ अर्थोपेडिक सर्जन हुनुहुन्छ । यस्तै कान्ति बाल अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त हुनुभएको छ ।
उहाँ बालरोग विशेषज्ञ हुनुहुन्छ । भेरी प्रादेशिक अस्पतालमा डा. प्रकाश थापा, कोशी प्रादेशिक अस्पतालमा डा. चुमनलाल दास र वीर अस्पतालको सहायक निर्देशकमा डा. रविन खड्कालाई ल्याइएको छ । त्यसैगरी सगरमाथा अस्पतालमा रञ्जितकुमार झालाई निर्देशक बनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा. वासुदेव पाण्डेलाई ल्याइएको छ । यसअघि सो जिम्मेवारी सम्हाल्नुभएका डा. विवेककुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक बनाइएको छ ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सागर राजभण्डारीलाई ल्याइएको छ । उहाँ यसअघि क्षयरोग केन्द्रमा कार्यरत हुनुहुन्थ्यो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी डा. रमेश खरेललाई दिइएको छ । सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिइएको छ । राष्ट्रिय तालिम केन्द्रको निर्देशकमा डा. यदुचन्द्र घिमिरे नियुक्त हुनुभएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?