logo
२०८१ माघ ६ आईतवार



अज्ञात रोगले २० भेडा मरे, उपचार गर्न जनशक्ति छैन

खुला |


अज्ञात रोगले  २० भेडा मरे, उपचार गर्न जनशक्ति छैन


मानदत्त रावल

जुम्ला, फागुन १४ गते । हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । “भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे। ” कृषक अधिकारीले भन्नुभयो । अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ । नियन्त्रणमा कुनै पहल भएको छैन ।

“जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २० मरिसके । अझ कति मर्ने हुन् । रोग फैलिएको छ ।” उहाँले भन्नुभयो । बीमा नहुँदा क्षतिपूर्तिको संम्भावना छैन । शिखर इन्सुरेन्समार्फत पशु बीमा गर्ने भएपनि सो गाउँपालिकामा कर्मचारी नहुँदा बीमा नभएको जनाइएको छ ।

सो गाउँपालिका पशु शाखाका संयोजक नरसिंह थापाले आफूले भेडा मरेको जानकारी पाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ औषधि दिएर पठाएका छौँ ।” शाखामा सात जनाको कर्मचारी दरबन्दी रहेको छ । अहिले एकजना मात्र कार्यरत रहेका छन् । उहाँले भन्नुभयो “ एकजना कर्मचारीले कार्यालय खोल्ने कि फिल्ड जाने निकै समस्या छ । ”

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी समायोजनका कारण दरबन्दीमा उथलपुथल भएको जानकारी दिनुभयो । “पर्याप्त कर्मचारी छैनन्”, उहाँले भन्नुभयो, “भएका कर्मचारीले जेनतेन व्यवस्थापन गर्दै आएका छौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?