नेत्र शाही
खलङ्गा फागुन २२ गते । कर्णाली प्रदेश सरकारले कर्णालीका गाउँपालिकामा अव मजवुद्ध सुरक्षा व्यवस्थाको तयारी थालेको छ । प्रदेश सरकारले प्रहरी समायोजन तथा प्रदेशको माताहतमा आउने बित्तिकै प्रहरी निरीक्षक सहितको टोली गाउँपालिकामा राख्ने गरी तयारी भईरहेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
जिल्लाको तातोपानी गाउँपालिका लिताकोटमा प्रहरी चौकी स्थापना गर्दै मन्त्री भण्डारीले अव वैशाखमा प्रहरी प्रदेश सरकारको अधिकारमा आउने भएकाले मजवुद्ध जनशक्तिको तयारी भईरहेको जानकारी दिनुभयो । संघीय संरचनाको सवैभन्दा बलियो सरकार स्थानीय सरकार र संरचना बलियो हुदै गएकाले अव जिल्लामा मात्र नभई सुरक्षालाई पालिका केन्द्रीत गर्ने योजना पुरा हुनेमा जोड दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, पशु, कृषि, वैंक सहित धेरै कार्यालयहरु गाउँ केन्द्रीत भईसकेकाले जनतालाई संघीयताको महशुस हुनेगरी सुरक्षाको आवश्यकता रहेको बताउनुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश कर्णाली राजमार्ग अन्तरगत डोल्पा जाने सडक क्षेत्रको गुठिचौर गाउँपालिकाको कार्यालय झारज्वालको प्रहरी चौकीको समेत उद्घाटन भएको हो । यसैगरी नाग्म गमगडि राजमार्गको बड्कीमा यस अगाबै प्रहरी चौकी उद्घाटन गरिएको थियो ।
स्थायी प्रहरी चौकी तातोपानीको उद्घाटन गर्दै कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले शान्ति सँगै समृद्धि जोडिने भएकाले प्रहरी चौकी स्थापना हुनु ठूलो बिषय भएको बताउनुभयो । उहाँले प्रहरी आफैमा एक जना जनशक्ति भएपनि राज्यको प्रतिनिधित्व भएकाले जनताले प्रहरीको काममा सघाउन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले शान्ति सुरक्षा विकासको आधारभुत आवश्यकता रहेकोले जनता र प्रहरी एकै साथमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरी प्रदेश सरकारले मदिरा नियन्त्रण अभियान शुरु गर्न लागिरहेको भन्दै मदिराको मात्रा, स्थान र निश्चित व्यक्ति तय गरिनेमा उहाँले जोड दिनुभयो । जथाभावी मदिरा व्यापार गर्ने र खाने नभई मापदण्ड तोकेमा मदिराबाट हुने खतरा रोकिने जानकारी दिनुभयो ।
जिल्ला समन्वय प्रमुख लालबहादुर सार्कीले समाजमा हिंसा कम गर्न शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरी सहकार्य आवश्यक भएको जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष नवराज न्यौपानले तातोपानी गाउँपालिकामा प्रहरी चौकी हुनु शान्ति सुरक्षा प्रभावकारी रहेको बताउनुभयो । उहाँले तातोपानी पर्यटकीय क्षेत्र समेत भएकाले शान्ति सुरक्षाको आवश्यकता भएकोबेला सरकारले स्थायी प्रहरी चौकी स्थापना गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जिल्लाको आवश्यकता अनुसार हिमा गाउँपालिकाको बड्की, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकामा स्थायी प्रहरी चौकी स्थापना भएको जानकारी दिदै प्रदेश सरकारले र स्थानीय सरकारले आवश्यक जनशक्ति र स्रोतसाधानमा सहयोग गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । प्रहरी निरीक्षक धामीले अहिले जिल्लामा लागु औषध निशेषधका लागि प्रहरीले कडा सर्च अभियान थालेको भन्दै अव मदिरा नियन्त्रणमा जोड दिने बताउनुभयो । प्रहरी चौकी स्थापना पछि स्थानीय नागरिकले बाजगाजा सहित स्वागत तथा खुशीयाली मनाएका छन् ।