जुम्ला फागुन २३ गते । सिञ्जा गाउँपालिकामा पनि आगामी शैक्षिक सत्रदेखि खस भाषामा पठनपान हुने भएको छ । यस अघि जिल्लाको तातोपानी गाउँपालिकाले खस भाषामा पठनपाठन गराउँदै आएको थियो ।
तातोपानी गाउँपालिकाले यहाँका २५ विद्यालयमा स्थानीय खस(जुम्ली) भाषामा पाठ्यपुस्तक निर्माण गरी चालु शैक्षिक वर्षदेखि पठनपाठन गराउँदै आएको थियो । लोपोन्मुख खस भाषालाई जोगाउन पाठ्यपुस्तक तयार गरी विद्यालयमा पढाउने व्यवस्था गराएको जनाइएको छ ।
गाउँपालिकाका २८ मध्ये २५ विद्यालयमा १ देखि ३ कक्षामा शैक्षिक सत्र ०७५÷०७६ मा अध्ययन अध्यापन शुरु गरिएको थियो । फागुनदेखि शुरु भएको नयाँ शैक्षिक सत्र ०७६÷०७७ मा ४ र ५ कक्षामा पनि पठनपाठन शुरु गरिएको तातोपानीका शिक्षा शाखाका प्रमुख छायादत्त चौलागाइँले बताउनुभयो । यस शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका तीन हजार ८५१ विद्यार्थीले खस भाषाको पाठ्यपुस्तक अध्ययन गरेका छन् ।
स्थानीय खस भाषामा आधारित पाठ्यपुस्तकको अध्ययन हुने भएपछि पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानीका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिकस्थल, मठमन्दिर, पर्यटकीयस्थल, ऐतिहासिक धाम तथा दरबारजस्ता विषय समेटिएको शिक्षा शाखा प्रमुख चौलागाइँले बताउनुभयो ।
त्यसैगरी २ र ३ कक्षाको पाठ्यपुस्तकमा समेटिएका प्राकृतिक, धार्मिक, ऐतिहासिक सम्पदा, कृषिजन्य बाली, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय तथा महत्वलाई खस भाषामार्फत झल्काइएको छ । तातोपानी–५ श्रीनगरस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक छायादत्त खत्रीले खस भाषामा स्थानीय पर्यटकीय तथा धार्मिक सम्पदा बुझ्न पाउँदा थप र सहज तरिकाले ज्ञान हासिल गर्ने मौका मिलेको बताउनुभयो ।
सिञ्जाले २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म नयाँ शैक्षिक सत्र ०७६÷०७७ को आगामी १ वैशाखाट शुरु गर्ने तयारी गरेको वडा नं २ वडाध्यक्ष नवीन शर्माले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले भन्नुभयो, “यो वर्ष कक्षा ३ सम्म र अर्को वर्ष कक्षा ८ सम्म पठनपाठनको व्यवस्था गर्ने लक्ष्य राखेका छौँ ।”