नरेन्द्र ढकाल
गोरखा, फागुन २७ गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीमा जीप दुर्घटना हुँदा एघार जना घाइते भएका छन् । सौरपानीको रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बर बोलेरो जीप छहरे खोलामा दुर्घटनामा परेको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिनुभयो ।
दुर्घटनामा पनि वर्ष १९ की बिमला गुरुङ, २० वर्षकी रमा गुरुङ, ३३ वर्षका श्रीमान् गुरुङ, ६० वर्षकी क्षेत्रकुमारी गुरुङ, ६० वर्षीय बुद्ध गुरुङ, ३७ वर्षकी टेकमायाँ गुरुङ, उहाँकी ६ वर्षकी छोरी सनिता गुरुङ घाइते हुनुभएको छ । यसैगरी ७३ वर्षकी सुकमायाँ गुरुङ, २३ वर्षका बिनोद गुरुङ, ५२ वर्षीय राजकुमारी गुरुङ र जीप चालक आन्नदकुमार गुरुङ पनि घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी टिका शर्माले जानकारी दिनुभयो । गम्भीर घाइते हुनुभएका ४ जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । बिमला, रमा, क्षेत्रकुमारी र सुकमायाँको अबस्था गम्भीर रहेको छ । अन्य ७ जनालाई भने एम्बुलेन्स मार्फत जिल्ला अस्पताल गोरखा ल्याइदैछ ।
भिरालो बाटोमा बेक्र फेल भएर जीप सडकबाट २ सय मिटर तल खसेको थियो । घटना भए लगतै सौरपानी प्रहरी चौकीका प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेको स्थानीय ईश्वर ढकालले जानकारी दिनुभयो । अहिले इलाका प्रहरी कार्यालय जौवारीको टोली समेत घटना स्थलमा पुगिसकेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना स्थल गोरखा सदरमुकामबाट ५० किलोमिटर भन्दा कच्ची सडकको दुरीमा पर्छ ।