गोरखापत्र अनलाइन
काठमाडौं, २७ फागुन गते । मोरङमा आफ्नै ७० वर्षीया श्रीमती सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा बिराटनगर महानगरपालिका–१२ मलङवा बस्ने ७२ वर्षीय परण रिसिदेवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । परणले घरायसी बिवादको कारण सगुत्रीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले परणलाई पक्राउ गरेको हो ।
कपिलवस्तुमा आफ्नै बाबु चन्द्र बहादुर जिसीको हत्या गरेको अभियोगमा शिबराज नगरपालिका–९ तुरुन्तपुर बस्ने ३२ वर्षीय बसन्त जिसिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बसन्तले घरायसी बिवादका कारण ईट्टाले प्रहार गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका चन्द्रदेवको संजिवनि अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले बसन्तलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उदयपुर स्थायी घर भएर ललितपुरको बालकुमारीमा डेरा गरि बस्ने बर्ष ३३ को हरि खड्का मृत अवस्थामा फेला परेपछि उनको हत्या भएको परिवारले किटानी जाहेरी दिएकोमा हत्या गरेर फरार बस्दै आएका मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नं १ पिपलडाडाँका धने भन्ने १९ बर्षिया आरुष थिङलाई महानगरीय अपराध महाशााखा र स्थानीय प्रहरीको सकृयतामा पक्राउ गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका थिङलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको थापाले बताउनुभयो ।