logo
२०८१ मंसिर ८ शनिवार



राडार क्षेत्रमा पर्यटकको आकर्षण

खुला |


राडार क्षेत्रमा पर्यटकको आकर्षण


नगेन्द्र सापकोटा

ललितपुर, चैत १ गते । बाग्मती गाउँपालिका वडा नं. ३ स्थित भट्टेडाँडामा हवाई सुरक्षाका लागि निर्माण गरिएको आधुनिक प्रविधिको ‘मोनोपल्स सेकेन्डरी सभिलियन्स’ राडार क्षेत्र अहिले दक्षिण ललितपुरको प्रमुख आकर्षणको केन्द्र बनेको छ ।
गाउँपालिकाले सो क्षेत्रलाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको केन्द्र मान्दै भौतिक पूर्वाधार निर्माण कार्यमा उच्च प्राथमिकता दिएपछि पर्यटकीय आकर्षणको केन्द्र बनेको हो । २०६८ साल भदौ २५ गते ललितपुरको भट्टेडाँडा नजिकै रहेको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटना हुँदा विमानमा सवार १९ जनाले ज्यान गुमाएका थिए । त्यसपछि नेपालको हवाई सुरक्षाका लागि सरकारले भट्टेडाँडामा राडार निर्माण गरेको हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट आउने र जाने जहाज भट्टेडाँडाको तीन सय मिटर उचाईमा जडान गरिएको राडार हुँदै त्रिभुवन विमानस्थलमा आइपुग्छन् । गाउँपालिकाले सो क्षेत्रमा अहिले वनभोज स्थल, काँडे सल्ला, लालीगुराँस संरक्षण अभियान, तीनपाने भञ्ज्याङदेखि राडार क्षेत्रसम्म पुग्न सडक सञ्जाल निर्माण गरेको छ ।
राडार क्षेत्रमा साँझ र बिहान कालिज र मृग नाचेको देख्न सकिने भएकाले अहिले सो क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड बढ्न थालेको छ । उक्त क्षेत्रमा सालक, चित्तल, दुम्सी, भ्याकुर, जुरेली लगायतका वन्यजन्तुसमेत पाइने बाग्मती गाउँपालिकाले जनाएको छ ।
सातदोबाटोबाट १८ किलोमिटर दक्षिण भेगमा रहेको राडार क्षेत्रबाट मध्य तराईका भूभागसहित काठमाडौँ, ललितपुर, मकवानपुर, काभ्रे र भक्तपुर, गणेश लाङ्टाङ, मकालु हिमाल लगायतका स्थान सहजै अवलोकन गर्न सकिन्छ । त्यसैले गाउँपालिकाले राडार क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको केन्द्र बनाएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो ।
गाउँपालिकाले सो क्षेत्रमा आवश्यक पर्यटकीय पूर्वाधार निर्माणका काम गर्दै जानेगरी योजना बनाएको छ । कान्ति लोकपथको बाटो हुँदै तीनपाने भञ्ज्याङबाट दुई किलोमिटर उचाईमा राडार क्षेत्र पुग्न सकिन्छ ।
गाउँपालिकास्थित सिद्धेश्वर महादेव मन्दिर, महाकाल स्थान, इकुडोल माझखण्ड, बुद्धविहार, आश्राङको घ्याम्पे दह, गिम्दीको चमेरे गुफा लगायतका स्थान गाउँपालिकाले प्रमुख पर्यटकीय क्षेत्रका रूपमा पहिचान गरेको छ । त्यस्तै छपेलीदेखि माझखण्ड सम्मको दूरीमा केबुलकार राख्ने योजना अन्तिम चरणमा पुगेको छ । अहिले भट्टेडाँडा हुँदै कान्ति लोकपथबाट हेटौँडा ७२ किलोमिटरको छोटो दूरीमा पुग्न सकिने भएपछि उक्त क्षेत्र अझै पर्यटकीय केन्द्रका रूपमा विकास भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।
अध्यक्ष लोप्चनले गाउँपालिकाको नीति योजना र कार्यक्रममा गाउँपालिकालाई पर्यटकीय क्षेत्रको विकास गर्न राडार क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको हो । राडार क्षेत्रलाई दक्षिण ललितपुरको प्रमुख पर्यटकीय गन्तव्यको केन्द्रका रूपमा विकास गर्न गाउँपालिकाले नीतिगत रूपमा काम गरेको छ । तीन तहको आ–आफ्नै अधिकार क्षेत्रले सो क्षेत्रमा थप पर्यटकीय प्रवद्र्धनको काममा केही समस्या भएको छ भन्नुभयो ।

के हो राडार ?
भट्टेडाँडामा जडान गरिएको राडार ४५० किलोमिटर टाढाको जहाजको सम्पूर्ण जानकारी थाहा पाउने यन्त्र हो । जापान सरकारको अन्तर्राष्ट्रिय नियोग (जाइका) को ९८९ मिलियन जापानी यन र प्राधिकरणको १५ करोड रुपियाँसहित करिब एक अर्ब १५ करोड रुपियाँमा राडार जडान गरिएको प्राधिकरणले जनाएको छ । नयाँ राडारबाट पूर्वका सबै भाग र पश्चिममा सुर्खेतसम्म हवाई क्षेत्रमा उडेका विमानको गति, उचाई, प्रकार, एयरलाइन्स लगायत विवरण थाहा पाउन सकिने प्राधिकरणले जनाएको छ ।
सो राडारको काम नेपाली हवाई आकाशको एयर ट्राफिक कन्ट्रोल सेवा सुदृढ बनाई उडान सुरक्षा अझै सुरक्षित बनाउनु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भट्टेडाँडामा राखिएको राडारले नेपालको हवाई सुरक्षालाई ठूलो सहयोग पु¥याएको छ भन्नुभयो ।
मोनोपल्स सेकेन्डरी सर्भिलियन्स राडार भट्टेडाँडामा मात्र छ ।

राडारले बढाउँछ सुरक्षा
नागरिक उड्डयन प्राधिकरणका अनुसार राडारमार्फत एयर ट्राफिक कन्ट्रोलरले त्रिभुवन विमानस्थल अवतरण हुने जहाजका लागि नयाँ नम्बर उपलब्ध गराएको हुन्छ । उपलब्ध भएको सो नम्बरमा विमान चालकले सम्पर्क गर्छन् । त्यसपछि विमानस्थलको टावर कन्ट्रोलले सम्पर्कमा आएको जहाजलाई प्रमाणित गर्छ ।
टावरले पूर्णरूपमा जहाजको निगरानी र नियन्त्रण गर्दै आवश्यक निर्देशन गर्ने काम गर्छ । त्यस पछिको सम्पूर्ण जिम्मा एयर ट्राफिककै हुन्छ । राडारले जहाजको दूरीलाई आवश्यकता अनुसार नियन्त्रण गर्न सक्छ । नेपालको हवाई आकाश सुरक्षित बनाउन यो प्रविधिले ठूलो भूमिका खेलेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार नेपालको पूर्वका सबै भू–भाग र पश्चिममा सुर्खेतसम्म विमानको गति, उचाई लगायतका जानकारीले नेपालको हवाई सुरक्षा
राडारले थप सुरक्षित र व्यवस्थित बनाएको महसुस भएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?