काठमाडौं, चैत ४ गते । सर्लाही, हरिवन नगरपालिका–१ भोगटेनीस्थित बाटोबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ६ ट्याबलेटसहित दुईजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–८ चापानी बस्ने २६ वर्षीय अनिलकुमार बल्मपाकी र सोही ठाउँ बस्ने २३ वर्षीय पारस खड्का रहेका छन् । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले बा.५५ प ६७४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
रौतहट, मौलापुर नगरपालिका–५ पथराबाट अवैध लागूऔषध गाँजा करिब २ केजी, चरेशजस्तो देखिने वस्तु करिब २ सय ५० ग्राम र हरिणको सिङ १ थान सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मौलापुर नगरपालिका–३ बस्ने ३२ वर्षीय नरेश महतो र सोही ठाउँ बस्ने २२ वर्षीय बिरजान महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको ना.१४ प २५१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध र हरिणको सिंगसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।