गोरखापत्र अनलाइन
काठमाठौ, चैत्र ५ गते । लागूऔषध नियन्त्रण व्यूरोले विशेष सूचनाको आधारमा ठूलो परिणाममा लागूऔषध सहित पक्राउ गरेको छ ।
व्यूरोले नियन्त्रित लागूऔषध तथा मनोद्धिपक पदार्थ सहित विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेर लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार कानूनी कारवाही बढाएको व्यूरोले जनाएको छ ।
व्यूरोले नुवाकोट सुर्यगढी गाउँपालिका वडा नं ५ का सरोज पौडेल, सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–४ की उर्मिला तामाङ, धादिङ जिल्ला निलकण्ठ नगरपालिका–१ का २९ बर्षका राजकुमार गुरुङ, महोत्तरी मटिहानी नगरपालिका–८ का ३८ बर्षका इमतियाज नदाफलाई काठमाडौं महानगरपालिका–१६ बालाजुवाट लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ ।
उनीहरुको साथबाट बुप्रेनोर्फिन ३९६एम्पुल, डाइजेपाम २४४ एम्पुल, फेनारगन ४०५ एम्पुल सहित पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेपछि पक्राउ गरिएकाहरुको सूचनाको आधारमा प्रहरीले फागुन २२ गते जिल्ला बारा कलैया नगरपालिकाका ३५ बर्षका पचुदास गिरीलाई बल्खुबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले फागुन २८ गते गोकर्णेश्वर नगरपालिका–८ बाट सिन्धु्पाल्चोक जिल्ला पाँचपोखरी थाङपाल स्थायी घर भएका राजिव तामाङ र ओखरढुंगाका सरोज राइलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रण ऐन २०३३ अनुसार कानूनी कारवाही बढाएको व्यूरोले जनाएको छ ।