अमर नहर्कि
तनहुँ, चैत्र ९ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका– १२ घाँसीकुवामा आइतवार बिहान बस दुर्घटना हुदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । सो दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन् । मुग्लिनवाट दमौली जाँदै गरेको ग १ ख ९४०० नं.को बस अनियन्त्रीत भई नालामा पल्टिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गोरखा नगरपालिका १७ देउराली घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका– २ गाछेपानी वस्ने २५ वर्षीया शर्मीला ठकुरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिनुभयो । शर्मिलाको बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका नुवाकोट शिवपुरी ८ का ३२ वर्षीय सुरेन्द्र सिलवाललाई उपचारका लागी काठमाडौं स्थित वि एण्ड वि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये २ जनालाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र सामान्य अवस्थामा रहेका १४ जना घाइतेकोे दमौलीको रत्नहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । वस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।