logo
२०८१ मंसिर ११ मंगलवार



पनौतीमा विपद्का लागि ३५ लाख, धुलिखेलमा ५० बेडको क्वारेन्टाइन

खुला |


पनौतीमा विपद्का लागि ३५ लाख, धुलिखेलमा ५० बेडको क्वारेन्टाइन


मधुसुधन तिमल्सिना
काभ्रे, चैत १० गते । विश्वभर फैलिएको कोरोना भाइरसलाई फैलन नदिन पनौती नगरपालिकाले उच्च सर्तकता अपनाएको छ । त्यसका लागि नगरले बजेट देखी स्वास्थ्यकर्मी परिचालन, ज्वरो नाप्ने क्लिनिक, नागरिकलाई सचेतना, प्रोत्साहन लगायतका कार्यक्रम घोषणा गरेको छ ।
पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरस जस्ता महामारी र विपद्को लागि विपद्–व्यवस्थापन कोष मार्फत ३५ लाख रुपियाँ बजेट व्यवस्थापन गरेको छ ।

नगरपालिकाले मानेश्वरी बसपार्कमा ज्वरो नाप्ने तथा उपचारका लागि हेल्थ डेक्स स्थापना गरेको छ । नगरले कोरोना भाइरसको संक्रमित व्यक्ती फेला परेमा त्यस्तालाई उपचारमा सहयोग पु¥याउनेलाई आवश्यक प्रोत्साहन घोषणा गरेको छ । नगरको सिमावर्ती मुख्य मुख्य नाकाहरुमा स्थानीय सम्बन्धित वडाको समन्वयमा स्वास्थ्य संस्थाले कोरोना बारे सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले वडा न ७ मा रहेको निर्माणाधीन क्षेत्रीय रंगशाला, वडा न ५ को छालाकारखानामा रहेको खुला ठाउँ, वडा न ५ कै शिखर प्लाईउड संचालन रहेको भवन, नगरभित्र रहेका इन्द्रेश्वर, तेजगंगा र कुशादेवी क्याम्पसमा क्वारेन्टाइन क्षेत्र निर्धारण गरेको छ । नगर क्षेत्र भित्रका भीडभाड गर्न सचेत गराउने, घरघरमा साबुन पानीले हात धुने बारेमा सचेतना फैलाउने निर्णय गरेको छ ।
धुलिखेल नगरपालिकाले बनायो ५० बेडको क्वारेन्टाइन
जिल्ला मै पहिलो धुलिखेल नगरपालिकाले ५० बेडको क्वारेन्टाइन बनाएको छ । धुलिखेल नगरपालिकामा रहेको सञ्जीवनी नमूना बिद्यालयमा ५० वेडको क्वारेन्टाइन निर्माण भएको नगरपालिकाले जनाएको छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जूले सञ्जीवनी नमूना बिद्यालयमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, प्रहरी लगायतको सहयोगमा निर्माण थालिएको जानकारी दिनुभयो । उहाँले धुलिखेल अस्पतालमा आइसोलेसन कक्ष तयार भइसकेको जानकारी दिनुभयो । उहाँले धुलिखेल अस्पतालमा सामान्य उपचारमा रहेका तीन सय बिरामीलाई घरमा पठाएर त्यहाँ पनि खाली गर्न लागि बताउनुभयो । अस्पतालमा पाँच सय बेड छन ती मध्ये तीन सय वटा कोरोनाका बिमारी आए भने उपचार गराउने गरी प्रबन्ध मिलाउन लागेका छौँ । उहाँले उपचारका लागि मेडिकल टिम बनाए र आवश्यक परे थप ५० बेडको क्वारेन्टाइन बनाउने तयारी थालेको जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाले नगरपालिका भित्र र नगरपालिका बाहिरबाट नगरपालिका भित्रने क्रममा हुन सक्ने सम्भावित क्षेत्रहरुमा सुरक्षा अपनाउँदै स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल हुने वातावरण बनाउन सतर्क रहने विषयमा विभिन्न निर्णयहरु गरी कार्यान्वयनमा जुटेको ब्याञ्जुले जानकारी दिनुभयो । ‘आमनागरिकलाई सचेत सुरक्षित र संयमित रहन, सङघीय तथा प्रदेश सरकारका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, अत्याबश्यक बाहेकका पसल तथा बजार बन्द गर्न, यातायात क्षेत्रमा भीडभाड नियन्त्रणका लागि अनुरोध गरेको थियो ।

नगरको विपद् व्यवस्थापन समितिले क्वारेन्टाइन सेवाका लागि समुदाय तथा होटल, बिद्यालयका भवनहरु तथा अन्य उपयुक्त स्थानहरु प्रयोग गर्ने, चोक चोकमा मानिस जम्मा हुन नदिन जनप्रतिनिधि, प्रहरी तथा सरोकारवाला निकायबाट अनुगमन तथा सन्देश प्रवाह गर्ने, अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह नगर्ने, सवै स्थानिय तहले अत्याबश्यक अबस्था बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन सुचना प्रवाहका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । नागरिकलाई कुनै प्रकारको संकट आई लागेमा नगरपालिकाले प्रयोग गरेको हटलाईन १६६०११४९३२९ मा खवर गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?