logo
२०८१ मंसिर ११ मंगलवार



मेयर फोरम बैठक : अस्थायी क्वारेन्टाइनका लागि पहल गरिने

खुला |


मेयर फोरम बैठक :  अस्थायी क्वारेन्टाइनका लागि पहल गरिने


नगेन्द्र सापकोटा

काठमाडौँ, चैत ११ गते । उपत्यका मेयर फोरमले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न आवश्यक परे उपत्यकाका सामुदायिक स्कुल, कलेज, होटल तथा गेस्ट हाउस, सामुदायिक भवनलाई अस्थायी क्वारेन्टाइन(निगरानी कक्ष)मा परिणत गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसविरुद्ध महाअभियान सञ्चालन गर्दै उपत्यकाका सबै सामुदायिक भवन र विद्यालय, होटललाई अस्थायी क्वारेन्टाइनमा रूपान्तरण गर्ने निर्णय गरिएको हो ।
फोरमको बैठकले क्वारेन्टाइनमा रहने स्वास्थ्यकर्मी पूर्ण सुरक्षित रहनेगरी सहयोगको व्यवस्थापन गर्ने, सङ्क्रमित भेटिए उपचारका लागि सरकारले तोकेको उपचार केन्द्रमा पठाउने र आवश्यक परे थप उपचार केन्द्र बनाउन सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
आइतबार साँझ सम्पन्न बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै फोरमले कोरोना भाइरसबाट बच्न सबैखाले सजगता अपनाउने र सोही अनुसार १८ वटै नगरपालिकालाई परिपत्र गरेको छ । फोरममा काठमाडौँ र ललितपुर महानगरसहित काठमाडौँ, भक्तपुर र ललितपुरका १६ गरी १८ वटा नगरपालिका सदस्य छन् ।
फोरमले कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउँदै कोरोना भाइरसबाट आात्तिनुभन्दा सजग र सचेत रहन उपत्यकावासीलाई आग्रह गरेको फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार विश्वमै महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न उपत्यकाका नगरपालिकाले आपसी सहयोग र सहकार्य गर्दै महाअभियान सञ्चालन गर्ने यस कार्यमा जिम्मेवार भएर लाग्न सबैलाई आग्रह गर्ने निर्णय गरिएको हो ।
फोरमले प्रत्येक नगरपालिकाले आफ्ना नगरपालिकाका सबै वडाका नागरिकसम्म पुग्नेगरी कोरोनाबाट बच्ने उपाय सहितका सकारात्मक सन्देश प्रवाह गर्ने, कोरोना सङ्क्रमणको आशङ्का भएका बिरामीका लागि क्वारेन्टाइनको व्यवस्था नगरपालिकाले गर्ने निर्णय गरेको छ । सबै नगरपालिकाभित्र आ–आफ्ना नगर क्षेत्रमा नागरिकको भीडभाड हुने ठाउँमा पानी ट्याङ्की र साबुन राखेर हात धुने व्यवस्था गरिनेछ ।
बैठकले उपत्यकाका सबै नगरपालिकाले बजार अनुगमन तीव्र पार्ने निर्णय गरेको छ । बजार अनुगमनमा कालोबजारी गरेको, अत्यावश्यक सामान लुकाएको पाइएमा नगरपालिकाले आफैँले कारबाही गर्ने र थप कारबाही आवश्यक भए सङ्घीय सरकारलाई आग्रह गर्ने भएको छ ।
उपत्यकाका नगरपालिकाले नियमित काम बन्द गरे पनि अत्यावश्यक सेवा स्वास्थ्य सेवा, नगर प्रहरीको काम सुचारु राख्ने निर्णय फोरमले गरेको छ । घरमा रहेका कर्मचारी आवश्यक पर्दा एक घण्टाभित्र नगरपालिकामा आउन सक्ने अवस्थामा राख्ने, स्थानीय तहको सेवा बन्द भएको अवस्थामा आ–आफ्ना नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न विभिन्न अभियान सञ्चालन गर्न कर्मचारीलाई निर्देशन गरिएको छ ।
उपत्यकाका सबै नगरपालिकाका जनप्रतिनिधि सेल्फ क्वारेन्टाइनमा बस्ने, नगरवासीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिने, जनप्रतिनिधिले अत्यावश्यक बाहेक सम्पूर्ण भेटघाट बन्द गर्ने निर्णय उपत्यका मेयर फोरमले गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?