सिराज खान ।
नेपालगञ्ज, चैत १४ गते । दुईदिनदेखि यहाँस्थित नेपाल–भारत सीमानामा अलपत्र परेका १६ जना नेपालीहरुको उद्धार गरेर उनिहरुलाई सुर्खेत पठाईएको छ । कर्णाली प्रदेशको सुर्खेत लगायतका जिल्लाका वासिन्दा रहेका उनिहरुलाई उद्धार गर्न केन्द्रबाट निर्देशन आएपछि उद्धार गरेर सुर्खेतस्थित प्रादेशिक क्वारेन्टाइनमा पठाईएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बताउनु भयो ।
उहाँले सुर्खेत पठाउनु अघि उनिहरु सबैको स्वास्थ्य परिक्षण गरिएको र सबैको स्वास्थ्य सामान्य रहेको बताउनु भयो ।
सीमानामा रहँदासम्म उनिहरुलाई उपमहानगरपालिकाले खाना र पानी खुवाउने व्यवस्था समेत मिलाएको थियो । यसअघि पनि एकसाताभित्र पटक पटक गरेर ३० हजार जतिलाई नेपाल प्रवेश गराईएको जमुनाह नाकाले जनाएको छ ।
कोरोना भाईरसका कारण पूर्ण रुपमा बन्द गरिएको सीमानामा भारतबाट आएका १६ जना नेपाली दुईदिनदेखि अलपत्र परेका थिए । नेपाल फर्किने भनेर दुईदिन अघिनै नेपालगञ्ज नाकामा पुगेपनि केन्द्रको निर्देशन पर्खिनु परेको कारण उनिहरुको उद्धार गर्न सकिएको थिएन ।
सिमा नाकामा नेपालतर्फ स्वास्थ्य परिक्षणका लागि राखिएको टेन्टमा बस्दै आएका उनिहरुले राम्रोसँग खान र सुत्न नपाएको गुनासो गरेपनि उपमहानगरपालिकाले खाने व्यवस्था मिलाएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले माथिको आदेश विना केही गर्न नसक्ने हुँदा आदेश आएपछि उद्धार गरिएको बताउनु हुन्छ ।
चार महिने दुधे बालकसहित रहेका १६ जनालाई सुर्खेत पठाईएपछि राहात भएको जमुनाह प्रहरी चौकीले जनाएको छ ।
चारदिन अघि भारतबाट उद्धार गरेर ल्याईएका सात सय बढी नेपालीहरु अस्थायी क्वारेन्टाइन महेन्द्र बहुमखि क्याम्पसबाट पर्खाल नाघेर भागेपछि थप आउनेहरुको उद्धारमा सतर्कता अपनाउँदै आईएको छ । भारतमा पनि २१ दिने लकडाउन जारी रहेको कारण गाडीहरु नचल्दा धेरै नेपाली टाढा टाढाबाट पैदल हिंडेर सीमानासम्म पुग्ने क्रम जारी छ ।