भैरहवा समाचारदाता
भैरहवा, चैत १४ गते । प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला स्थापना प्रक्रिया अघि बढाएको छ । भैरहवाको अञ्चलपुरमा रहेको गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला बनाउन लागिएको हो ।
प्रयोगशाला बनाउन गहुँबाली अनुसन्धान केन्द्रको एउटा भवन तयारी अवस्थामा राखिएको र काठमाडौंबाट प्राविधिक विशेषज्ञ बोलाइएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजेन्द्र गिरीले बताउनुभयो ।
उहाँले प्रयोगशालामा रियल टाइम पिसिआर मेसिन लगायत उपकरण जडान गरेपछि एक सातासम्ममा सञ्चालनमा ल्याउन सकिने बताउनुभयो ।
प्रदेशमा कोभिड–१९ को परीक्षणका लागि प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता छ । हवाई उडान समेत नभएको अवस्थामा काठमाडौं नमूना पठाउन समस्या भइरहेको डा. गिरीले बताउनुभयो ।
देशभरीका नमूना परीक्षण गर्नुपर्दा रिपोर्ट आउन झण्डै एक साता लाग्ने र यसले गर्दा बिरामीको उपचारमा समेत समस्या हुने गरेको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना भाइरसको मात्र नभइ भविष्यमा अन्य संक्रामक रोगहरुको परीक्षणका लागि पनि प्रयोगशाला चाहिने भएकाले अन्तर्राष्ट्रिय मापदण्डको र सुविधासम्पन्न बनाउने लक्ष्य रहेको बताउनुभयो ।
मन्त्री बरालले प्रदेश सरकारले भैरहवाको भिम अस्पताललाई कोरोना उपचार केन्द्रको रुपमा स्थापना गर्न लागेको पनि जानकारी दिनुभयो । भिम अस्पतालको छुट्टै ब्लकलाई कोरोना उपचार केन्द्र बनाइने उहाँको भनाई छ । मन्त्री बरालले ३० बेडको ब्लकमा “कोभिड–१९” संक्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी काम भइरहेको पनि बताउनुभयो ।