धीरेन्द्रप्रसाद साह
राजविराज, चैत १४ गते । सप्तरीको राजविराज नगरपालिकाले गुद्री तरकारी हटियामा भिडभाड बाक्लो हुन थालेपछि नगर स्थित राजरंगशालामा खुला तरकारी हटिया सञ्चालन गर्नेसहित तीन बुँँदे निर्णय गरेको छ ।
नगरपालिकाको शुक्रबार बसेको बैठकले भोली शनिबारदेखि प्रत्येक बिहान छ बजेदेखि नौ बजेसम्म खेल मैदानमा सामाजिक दुरी कायम गरी तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्न स्थानको खोजी गर्न वडा अध्यक्षहरुलाई निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो ।
राजरंगशालामा तरकारी व्यापारीबीच तीन मिटर र ग्राहकको दुई मिटरको दुरी कायम गरी घेरा चिन्ह भित्र बसेर तरकारी खरिद गर्न पाइने व्यवस्था मिलाइएको छ ।
लकडाउन अवधिभर दैनिक उपभोगबस्तु खाद्यन्नको लागि घर–घरमा पु¥याउने व्यवस्था गर्ने र अनलाइन मार्फत खाद्यान्न सामग्रीको घरघरमा पु¥याउन स्थानीय रमेश किराना पसल र निर्मल
किराना पसललाई जिम्मा दिने निर्णय भएको नगर प्रमुख यादवले जानकारी दिनुभयो । नगरपालिकाले भोली शनिबार बिहान गते १० बजे देखि कोरोना भाइरस र अन्य किटानु विरूद्धको किटनाशक औषधी (डिसइन्फेक्टान्ट) औषधि नियमित रुपमा छर्ने निर्णय गरेको छ । उक्त निर्णयहरु कार्यान्वयनका लागि सफल पार्न अनुरोध गर्दै अहिलेको अवस्थामा संयमता अपनाएर सहयोग गर्न नगरवासीसँग बैठकले आग्रह गरेको छ ।
यता कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि लकाउनको घोषणा गरिएको अवस्थामा तरकारी हटियामा पूर्ववत अवस्था जस्तै भीडभाड हुँदा जोखिम बढ्दै गएको थियो । अहिले सञ्चालनमा रहेको तरकारी हटिया निकै साँगुरो रहेकोले यसलाई मध्यनजर गरी राजरंगशालामा तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ ।