logo
२०८१ माघ ९ बुधवार



चन्द्रागिरिलाई २० थान पिपिई हस्तान्तरण

खुला |


चन्द्रागिरिलाई २० थान पिपिई हस्तान्तरण


काठमाडौँ, चैत १५  गते । काठमाडौँ प्रवेशको मुख्यद्वार चन्द्रागिरि नगरपालिकालाई २० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरिएको छ ।

विश्वमा फैलँदै गएको नोबेल कोरोना भाइरसको नेपालमा सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिका–११ का व्यवसायी गोविन्दभक्त श्रेष्ठले आज २० थान पिपिई हस्तान्तरण गर्नुभएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिका वडा १ देखि १५ सम्मका स्वास्थ्य संस्थालाई पिपिई प्राप्त भएको जानकारी दिनुभयो ।

चन्द्रागिरिले नेपाली सेनाको सहयोगमा नगरपालिकाभित्रका महादेवस्थान, बलम्बु, सतुङ्गल, मातातीर्थलगायतका स्थानमा कीटनाशक औषधि छर्केको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्केको प्रवक्ता महर्जनले बताउनुभयो । चन्द्रागिरिले यसअघि नागढुङ्गादेखि कलङ्कीसम्म कीटनाशक औषधि छर्केको थियो ।

चन्द्रागिरि नगरपालिकाले भर्खरै विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न स्थानीय स्वयंसेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधि परिचालनसमेत गरेको छ ।

दैनिक ज्यालादारी र मजदुरी गरेर खाने व्यक्तिलाई ध्यानमा राखी चन्द्रागिरि नगरपालिकाले तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । नगरपालिकाले भोकभोकै बसेर कोहीले ज्यान गुमाउन नपरोस् भन्नका लागि तथ्याङ्क सङ्कलन गरी तिनीहरुलाई आवश्यक राहतको व्यवस्था गर्ने जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्रका वडा कार्यालय भने सधँै खुल्ने जानकारी दिनुभयो । वडाबाट अत्यावश्यक सेवा दिनुपर्ने भएकाले लकडाउनको समयमा समेत वडा खोल्न लागिएको जानकारी दिनुभयो ।

सरकारले विश्वव्यापी रुपमा फैलिँदै गएको नोबेल कोरोना भाइरसको नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चैत ११ बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’को घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?