सर्लाही समाचारदाता
सर्लाही, चैत १५ गते । सर्लाहीको हरिवन नगरपालिकाले भीडभाड नहुने गरी शनिवारबाट तरकारी तथा फलफूलको बजार सञ्चालन गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रकोपलाई मध्यनजर गरी घोषणा गरिएको लकडाउनका कारण स्थानीय वासिन्दालाई तरकारी तथा फलफूलको अभाव हुन थालेपछि उच्च सतर्कता अपनाएर नगरपालिकाको पहलमा वडा नं. ११ स्थित सूर्ति विकास खेल मैदानमा अस्थायी बजार राखिएको हो । प्रत्येक पसलले एक÷एक मिटरको दुरीमा गोलो घेरा लगाई ग्राहकलाई लाईनमा लगाएर तरकारी तथा फलफूलको बिक्री वितरण गर्ने व्यवस्था मिलाएको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईले जानकारी दिनुभयो ।
हरिया सागसब्जी, तरकारी तथा फलफूलको बिक्री वितरणका लागि मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म बजार राख्ने निर्णय गरिएको हरिवन नगरपालिका कार्यालयले जनाएको छ । यस्तै हरिवन बजारका खाद्यान्न तथा ग्याँस पसलहरुलाई पनि शनिवारबाट नियमित रुपमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म आ–आफ्नो पसल खोली अत्यावश्यक सामग्रीको बिक्री वितरण गर्ने अनुमति प्रदान गरिएको नगरप्रमुख प्रसाईले बताउनु भएको छ ।
यसैबीच नगरप्रमुख प्रसाईले शनिवार आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपियाँ जम्मा गर्दै नगर प्रकोप व्यवस्थापन कोष स्थापना गर्नुभएको छ । सो कोषमा जम्मा भएको रकम कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा खर्च गरिने नगरप्रमुख प्रसाईले बताउनुभयो ।