कमल शर्मा
दैलेख,चैत १५ गते । विश्व भरी फैलिएको कोरोना भाइरस को भिड –१९ को सङ्क्रमण बाट जोगिन सरकारले लकडाउन गरेपछि दैलेख सदरमुकाममा रहेका दैलेखका अधिकांश तरकारी र फलफूल पसल बन्द भएका छन् । स्थानीय स्तरमा उत्पादन भएको तरकारीले दैलेख बजारलाई नपुग्ने भएपछि नेपालगन्जको रुपडिया नाका हुँदै सुर्खेत दैलेख पुग्ने तरकारी लकडाउनका कारण आयात हुने छोडेपछि दैलेखका अधिकाँस तरकारी पसल बन्द भएका हुन ।
नारायण नगरपालिका वडा ६ गणेश चोकमा रहेको देवकोटा फलफूल तथा तरकारी पसलका सञ्चालक मणिराम देवकोटाले सरकारले लगाएको लकडाउनका कारण तरकारी पसल बन्द भएको बताउनुभयो । उहाँले दैलेखमा उत्पादन भएको तरकारीले बजारलाई पुग्दैन त्यही पनि बजारका ठुला व्यापारीले खरिद गरेर लिए पछि आफूहरूले पसल बन्द गर्नु परेको बताउनुभयो । सरकारले एक्कासि लकडाउन गरेपछि आलु स्याउ,अनार,अङ्गुर लगायतका फलफूल र तरकारी आयात गर्न नसकेपछि तरकारी पसल बन्द गर्नु परेको बताउनुभयो ।
गणेश चोककै अर्का तरकारी व्यापारी दान बहादुर सिंहले अहिले सम्म बाँकी रहेको तरकारी आलु बिक्री गरेको भएपनि अन्य तरकारीको अभाव रहेको बताउनुभयो । उहाँले दैलेखको तरकारी उत्पादन हुने क्षेत्र भनेको गुराँसे हो त्यहाँ बाट तरकारी आयात गर्ने र बाँकी भारतमा उत्पादन भएको तरकारी दैलेख ल्याएर बिक्री गरे पनि लकडाउनका कारण कुनै पनि ठाउँको तरकारी सङ्कलन गर्न नसक्दा पसल बन्द गर्ने अवस्थामा पुगेको बताउनुभयो ।
होटेल अर्गनाइजेसका अध्यक्ष गणेश बहादुर खड्काले बजारमा तरकारीको अभाव सिर्जना हुँदा चर्को मूल्य हालेर तरकारी किन्नु परेको बताउनुभयो । सरकारले लगाएको लकडाउनका कारण स्थानीय स्तरमा उत्पादन हुने तरकारी समेत बजार ल्याउन नसकेको कारण बजारमा स्टक रहेको तरकारी किन्दा चर्को मूल्य तिर्न बाध्य भएको बताउनुभयो । दैलेख सदरमुकामको पुरानो बजार देखी नयाँ बजार सम्म ३० वटा भन्दा बढी तरकारी पसल भए पनि अहिले सबै बन्द हुने अवस्थामा रहेका छन् ।
बम सब्जीमण्डीका सञ्चालक कृष्णा चन्दले तरकारीको अभाव हुँदा सब्जीमण्डी नै बन्द गर्नु पर्ने अवस्थामा पुगेको बताउनुभयो ।उहाँले ग्राहकले ताजा तरकारी खोज्नु हुन्छ बजारमा ताजा तरकारी नै पाइँदैन तरकारी मात्र नभएर फलफूलको समेत अभाव भएको बताउनुभयो । रेग्मी तरकारी तथा फलफूल पसलका सञ्चालक खगेन्द्र रेग्मीले बजारमा सबै नाका बन्द हुँदा तरकारीको अभाव भएको बताउनुभयो । उहाँले बजारमा दुई सटर भाडामा लिएर तरकारी व्यवसाय गरे पनि पसलमा भएको सबै तरकारी सकिए पछि सटरको भाडा कसरी तिर्ने भन्ने समस्या आएको बताउनुभयो ।