चन्द्रप्रकाश शर्मा
पोखरा, चैत १७ गते । गण्डकी प्रदेशको बागलुङमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित फेला परेपछि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशभर नमूना संकलन र उपचारका सामग्री पठाउँने कार्यलाई तिव्रता दिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्नका लागि सरकारले लकडाउन गरेपनि केही दिन अगाडि नेपाल भित्रिएका नेपालीहरुमा कोरोनाको संक्रमण भेटिएपछि नमूना संकलन र उपचारका क्षेत्रमा काम गर्न थालेको हो ।
गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले सम्भावित संक्रमण फैलिन नदिनका लागि विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने र कोरोना भाइरसको संक्रमण भेटिए मात्र नमूना परीक्षण गर्ने तयारी गरिएकोमा संक्रमित भेटिएसँगै नमूना संकलन कार्यलाई तिव्रता दिइएको बताउनुभयो । शर्माका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेको जिल्ला अस्पतालमा कम्तीमा पाच सेटका दरले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) सहित अन्य सामाग्री पठाइएको थियो ।
कोरोना भाइरसको संक्रमित युवती बागलुङमा भेटिएपछि धौलागिरि अञ्चल अस्पतालमा ११ भन्दा बढी पिपिइ पठाइएको छ । ‘हामीले जहाँ बढी समस्या हुन्छ त्यहाँ सोहीअनुसार सामान पठाउँने गरी सबै तयारी गरेका छौं, बागलुङ संक्रमित देखिएको र त्यही उपचार भइरहेकाले पिपिइ संख्या थोरै हुने भएकाले १०० थान पिपिई, सेनिटाइजर, भेन्टिलेटर, भेटियन लगायतका सामानहरु पठाइएका छौ, आवश्यकता अनुसार अन्य ठाउँमा पनि पठाउँने तयारीमा छौं ।’ शर्माले भन्नुभयो ।
नेपाल सरकारको निर्णय अनुसार गण्डकी प्रदेशमै नमूना परीक्षण गर्न मिल्ने गरी पिसिआर मेसिन पोखरा आउन लागेकाले केही दिनभित्रै उक्त मेसिन जडान गरी नमूना परीक्षणको तयारी भइरहेको शर्माले बताउनुभयो । अहिले नमूना संकलन गरी काठमाडौं पठाउँने गरिएकोमा सम्भावित संक्रमितको नमूना संकलनका लागि आवश्यक पिपिइ लगायतका अन्य सामग्रीको अभाव नभएकाले पोखरामै प्रयोगशाला निर्माण भए धेरै सहज हुने शर्माले जानकारी दिनुभयो ।
प्रदेशको कोरोना रोकथाम, नियन्त्रण र उपचार समन्वय समितिका संयोजक एवं आर्थिक मामिला मन्त्री किरण गुरुङले समस्या परेका ठाउँमा स्वास्थ्य उपकरण, सामग्री, जनशक्तिदेखि लिएर आवश्यक रकम समेत पठाइएको जानकारी दिनुभयो । प्रयोगशाला निर्माणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानका छनोट गरिएको र सोही अनुसार मेसिन आइपुगेपछि तत्काल काम थाल्ने गुरुङले जानकारी दिनुभयो ।
कोरोना संक्रमितको उपचार भइरहेको बागलुङको धौलागिरि अञ्चल अस्पतालमा स्वास्थ्य सेवा विभागबाट डा. झलक गौतम सहितको टोली आइपुगेको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिई एक जना विरामीलाई छोएपनि पुन प्रयोग गर्न नमिल्ने भएकाले संक्रमित युवतीको नियमित उपचार, उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको नमूना संकलनलगायतका लागि धेरै संख्यामा पिपिइ आवश्यक पर्ने भएकाले निजी क्षेत्रबाट समेत सामग्री संकलनको अभियान थालेको सामाजिक अभियान्ता राम शर्माले बताउनुभयो । शर्माका अनुसार अहिलेसम्म बागलुङ अस्पतालका लागि काठमाडौ, जापान, अमेरिका लगायतका ठाउँमा बसोवास गर्नेहरुले पिपिइ पठाउँदै छन् ।
यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको उपचारमा सुरक्षित गराउँनका लागि पोखराबाट ल्याइएका दुई र काठमाडौंबाट ल्याइएका १५ वटा पिपिई वितरण गरेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।
यस्तै म्याग्दी समाचारदाताका अनुसार म्याग्दीका सबै गाउँपालिकाले पिपिइको व्यवस्थापन गरेका छन् । बैदेशिक रोजगारीबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेका स्थानीय तहले सम्भावित संक्रमितको नमूना संकलन र उपचारका लागि पिपिइको व्यवस्था गरेको जनाएको छ । म्याग्दीको बेनी अस्पतालमा ५५, रघुगंगा गाउँपालिकाले १२, अन्नपूर्ण गाउँपालिकाले ९, मालिका गाउँपालिकाले १०, धौलागिरि गाउँपालिकाले ८, बेनी नगरपालिकाले १५ वटा पिपिइ खरिद गरेका थिए ।
यसैबीच स्याङ्जा समाचारदाताका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगर कमिटीले अस्पताललाई पिपिई, गन थर्मोमिटर र माक्स उपलब्ध गराएको छ । कमिटीले गह्रौ प्राथामिक अस्पतालमा पिपिई नहुँदा स्वास्थ्य परीक्षण गर्न समस्या भएपछि सामाग्रीहरु उपलब्ध गराएको हो । नगर कमिटीले २५ थान पिपिई, १ थान गन थर्मोमिटर र सात सय थान सर्जिकल माक्स प्रदान गरेको हो । यस्तै नगरकमिटीले गल्याङ र कालीगण्डकीमा ५÷५ थान पिपिई र माक्स उपलब्ध गरेको नगरकमिटी अध्यक्ष राजेन्द्र डुम्रेले जानाकारी दिनुभयो ।
यस्तै कास्की समाचारदाताका अनुसार विश्वव्यापी रुपमा भइरहेको पिपीइको अभावलाई टार्न पोखराका महिला त्यसको उत्पादनमा लागेका छन् ।
पिपिई अभावमा कतिपय अस्पतालले सेवा दिन नसकेका अवस्थामा आफूहरुले पिपिइ उत्पादन गर्न सुरु गरेको पोखरा महानगरपालिका वडा नं. ५ का अञ्जु केसीले जानकारी दिनुभयो । ‘हाम्रो रचनात्मक गार्मेन्ट’ उद्योगका महिलाहरुले माक्ससँगै पिपिइ उत्पादन गरिरहेका छन् । ‘कोरोना संक्रमणको जोखिम र लकडाउनका बीच घरमै सुरक्षित रहेर पिपिई बनाएका छौ ।’ केसीले भन्नुभयो ।