दार्चुला समाचारदाता
दार्चुला, चैत १७ गते । भारतबाट दार्चुला भित्रिएका हजाराँै मानिसहरु क्वारेन्टाइनमा नबसेरै गाउँबस्तीमा घुमिरहदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । अहिलेसम्म दार्चुलाका ९ वटै स्थानीय तहमा झण्डै दुई सय मानिस मात्रै क्वारेन्टाइनमा बसेका छन् । सबै स्थानीय तहले भारत र जिल्ला बाहिरबाट आएकाहरुको तथ्याङक संकलन गरिरहेका छन् ।
लकडाउन र सीमा नाका बन्द हुदा भारतको पिथौरागढको विभिन्न ठाउँबाट मजदुरी गरेर फर्किएका ५ सय बढी नेपाली चार दिनयता धारचुलामा रोकिएका छन् । उद्धारको पहल नभएको भन्दै बैतडीको डिलाशैनी गाउँपालिका—१ कोटपेटराका ४८ वर्षिय ईन्द्रराज खत्री लगायत तीन जनाले महाकालीमा पौडी खेलेर दार्चुला आएपछि प्रहरीले पक्राउ गरेको छ । सीमामा रोकिएका नेपालीको उद्धार गर्न पहल भइरहेको प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले बताउनुभयो ।
कोरोना संक्रमणको आशंकमा १२ दिन पहिले भारतबाट आएका शैल्यशिखर नगरपालिका—६ ग्वानीका एक जनालाइ गोकुलेश्वर अस्पतालको आइसोलेसन कक्षमा राखेर थ्रेट स्वाव परीक्षणकालागि पठाइएको छ ।