नेत्र शाही
जुम्ला, खलङ्गा, चैत १७ गते । जुम्लाबाट चारजना विरामीको नमूना परीक्षणका लागि ‘स्वाब’ काठमाडौं पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको लक्षणको आशंकामा चारदिनदेखि आइसोलेसनमा भर्ना भएका दुई जना र तातोपानी गाउँपालिकाका लाम्रा र कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक, एक जना गरी चार जनाको ‘स्वाब’ नमूना परीक्षणका लागि काठमाडौं पठाइएको प्रतिष्ठानका डा. सुनिल बुढाथोकीले जानकारी दिनुभयो ।
‘उच्च ज्वरो आएका चार जना विरामीको स्वाब संकलन भएको थियो’ ‘सोमबार नै एम्बुलेन्सबाट स्वाब नेपालगन्ज पठाईएको हो । मंगलबार नेपालगन्जमा काठमाडौंदेखि जहाज नमूना लिन आउने भएकाले प्रतिष्ठानले तत्कालका लागि चार जनाको नमूना स्वाब पठाईएको जानकारी गरिएको छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीका तीन वटा अस्पतालाई आइसोलेसन सेन्टर बनाउने घोषणा गरेको छ । जुम्लामै कोरोनाको नमूना परीक्षण केन्द्र बनाउन पहल गरिरहेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
जुम्लाका सबै स्थानीय तहले क्वारेन्टाइन बनाएर भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने प्रतिष्ठानमा एक सय २० वेडको आइसोलेसन वाड तयार गरिएको छ । शुक्रबार मात्रै प्रतिष्ठानका रजिष्ट्रार काफ्ले लगायतको टोलिले स्वास्थ्य मन्त्रालयको सहकार्यमा १० वटा ‘स्वाब’ संकलन किट ल्याईएको जानकारी दिनुभयो ।
प्रदेशकै सबैभन्दा बढि क्षमता राख्ने अस्पतालमा परिक्षण केन्द्र हुनुपर्नेमा नागरिकको माग छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले सवैभन्दा बढि जनशक्ति भएको र ठूलो अस्पतालमा परिक्षण केन्द्र र आवश्यक सामाग्री कम हुनु बिडम्बना भएको जानकारी दिनुभयो । आवश्यकता आईपरेमा प्रतिष्ठानको तीन सय वेड मध्य दुई सय ५० वेडलाई नै आईसुसेनस गर्न सकिने रजिष्ट्रार काफ्लेले थप्नुभयो । उहाँले प्रदेश सरकारले रु एक करोड विनियोजन गरेपछि अझैं थप बलियो भएको बताउनुभयो ।