logo
२०८१ मंसिर ११ मंगलवार



गोरखा र पालुङटारमा बन्यो आइसोलेशन र सामुहिक क्वारेन्टाइन

खुला |


गोरखा र पालुङटारमा बन्यो आइसोलेशन र सामुहिक क्वारेन्टाइन


नरेन्द्र ढकाल
गोरखा, चैत १८ गते । गोरखा नगरपालिका र पालुङटार नगरपालिकाले छुट्टाछुट्टै आइसोलेशन र क्वारेन्टाइन बनाएका छन् । कोरोना भाइरसको संक्रमण बढि रहेका बेला संभावित बिरामीलाई अलगै राखेर उपचार गर्न दुबै स्थानीय सरकार जुटेका हुन् ।

गोरखा नगरपालिका–८ को द वल्ड क्यापिटल मावि रानीवनमा १५ शैयाको आइसोलेशन कक्ष बनाइएको छ । जिल्ला अस्पताल गोरखाको सहयोगमा ५ वटा बेड र आमाबा अस्पतालको सहयोगमा १० बेड तयारी गरिएको छ । उपचारका लागि आएका कोरोना संक्रमणका संभावित विरामीलाई त्यहाँ राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । ‘नेपाली सेनाको सहयोगमा हामीले आइसोलेसन वार्ड निर्माण गरिसकेका छौं,’ नगरप्रमुख राजनराज पन्तले भन्नुभयो, ‘आमाबा अस्पतालको सहयोगमा अब जिल्ला अस्पतालले त्यसलाई सञ्चालन गर्ने छ ।’ उक्त आइसोलेशन वार्डमा जिल्ला अस्पताल गोरखा र आमाबा अस्पतालका स्वास्थ्यकर्मीले सेवा दिने गोरखा नगरपालिकाले जनाएको छ ।

यसैगरी वडा नम्बर १० मनकामना बहिरा आबसिय माध्यामिक विद्यालय टक्सारमा ५० शैयाको सामुहिक क्वारेन्टाइन बनाइएको छ । रेडक्रसले कम्बल, ब्ल्याकेट, त्रिपाल र जिल्ला प्रशासन कार्यालयले २ वटा टेण्ड उपलब्ध गराएको छ । खाद्यन्न, खानेपानी, शौचालय, विद्युत लगायतको सबै प्रवन्ध गरिएको छ । नगरपालिकाले उपलब्ध गराएको सेवा सुबिधालाई नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी व्यवस्था गनेछ । त्यहाँको सरसफाईको लागि नगरपालिकाले एक जना कर्मचारी समेत खटाएको छ । ‘नगरपालिकाले आवश्यक सबै कुराको प्रबन्ध गरिदिएको छ । खाली हामीले यसको निर्माण मात्र गरेका हौं’ नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति उज्वली केसीले भन्नुभयो ‘यहाँ बस्न आउने बिरामीहरुलाई खानपान र उहाँहरुलाई आवश्यक व्यवस्थापकीय काम हामीले गर्ने हो ।’उक्त स्थानमा जिल्ला अस्पताल गोरखा र नगर स्वास्थ्य शाखाको समन्वयमा मेडिकल अधिकृत सहितका डाक्टर र अन्य स्वास्थ्यकर्मी पनि खटाइनेछ ।

उता पालुङटार नगरपालिकाले आँपपिपल अस्पतालमा ४ शैयाको आइसोलेशन वार्ड निर्माण गरिएको छ । वडा नम्बर ५ को धर्मावती प्राविमा भने १८ शैयाको सामुहिक क्वारेन्टाइन निर्माण गरिएको छ । ‘गाउँका मान्छेहरुको घर सानो हुन्छ । एउटै घरमा बस्दा बुढा बुबाआमा बालबच्चालाई संक्रमणको खतरा हुन्छ । त्यसैले बिदेशबाट आएका दाजुभाई दिदिबहिनीलाई सामुहिक क्वारेन्टाइनमा बसिदिनुहोस्, भन्ने हाम्रो चाहना हो,’ नगरप्रमुख दिपकबाबु कंडेलले भन्नुभयो, ‘अन्य बिपत्तको बेला पनि यो काम लाग्छ ।’

उक्त सामुहिक क्वारेन्टाइनमा आवश्यक सुबिधा पनि उपलब्ध गराएको छ । विद्युत, खानेपानी, शौचालय र खाना खाने मेस समेत निर्माण गरिएको । ‘एक बेड देखि अर्को बेडसम्म हुनुपर्ने डिस्टेन्स मेन्टेन गरिएको छ । एउटा ढोकाबाट भित्र पस्न र अर्कोबाट निस्कन मिल्ने बनाइएको छ,’ स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले भन्नुभयो, ‘हामीले आवश्यक सबै प्रवन्ध गरेका छौं, यदी अहिले होम क्वारेन्टाइनमा बसेकाहरु मध्ये कसैलाई घरमा बस्न अफ्ठेरो भएको छ भने, तत्काल हामीलाई सम्र्पक गर्न सक्नुहुन्छ ।’ जिल्लाका ११ वटै स्थानीय तहले आफ्नो स्रोत साधन अनुसार पूर्व तयारी गरिरहेका जनाएका छन् ।

गोरखामा हालसम्म कोराना संक्रमित बिरामी भेटिएको छैन । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ३ जना विरामीको नमूना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला टेकु पठाइएको छ । ती मध्ये १ जनाको रिर्पोट नेगेटिभ भएको छ भने सोमबार पठाइएका २ जनाको रिर्पोट आउन बाँकी रहेको जिल्ला अस्पताल गोरखाले जनाएको छ । पालुङटारमा ४० र गोरखा नगरपालिकामा ४२ जना विदेशबाट आएका सर्वसाधरणहरु होम क्वारेन्टाइनमा बसिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?