logo
२०८१ मंसिर ११ मंगलवार



५२२ घर परिवारलाई त्रियुगा नगरपालिकाद्वारा राहत वितरण

खुला |


५२२ घर परिवारलाई त्रियुगा नगरपालिकाद्वारा राहत वितरण


गाईघाट समाचारदाता
गाईघाट,चैत १८ गते । कोरोना भाईरसको संभावित संक्रमण रोक्नको लागि गरिएको लकडाउनबाट प्रभावित भएका पाँचसय २२ परिवारहरुलाई त्रियुगा नगरपालिकाले दैनिक उपभोग्य सामाग्रीहर राहत वितरण गरेको छ ।

आठ दिनदेखिको लगातारको लकडाउनले दैनिक ज्यालादारी गरेर खाने गरिव तथा मजदुर परिवारहरुलाई विहान वेलुकाको छाक टार्न समस्या परेको भन्दै नगरपालिकाले वडा नम्बर २ का एक सय २२ र वडा नं १२ का चारसय घर घुरीलाई मङ्गलवार राहत सामग्री बाँढेको हो ।

त्रियुगा नगरपालिकाको ती वडा वसोवास गर्दै आएका सदा समुदायका विपन्न वर्गलाई नगरपालिकाले नुन, तेल, दाल र चामल वितरण गरेको वडा नं २ का वडा अध्यक्ष घमान सिंह खत्रीले बताउनुभयो । ‘टोल विकास संस्था र जनप्रतिनिधीहरुले स्थलगत रुपमा लगत संकलन गरेका व्यक्तिहरुलाई राहत दिईएको हो ।’

वडा अध्यक्ष खत्रीले भन्नुभयो ‘प्रति परिवार १० केजी चामल, २ केजी दाल, १ किलो नुन र ५०० मिलि लिटर खाने तेल वितरण गरिएको छ ।’ लकडाउनमा मजदुरी गर्न नपाएका विपन्न नागरिकलाई नगरपालिकाको राहतले निकै सहयोग पुर्याउने विश्वास गरिएको छ ।

कोरोना भाईरस विरुद्ध प्रोटेक्टिभ एम्बुलेन्स, २५ वेडको क्वारेन्टाई र जिल्ला अस्पतालमा आईसुलेसन वेड स्थापना गर्न सहयोग गरेको त्रियुगा नगरपालिकाले त्रियुगा नगर राहत कोष नै खडा गरेर नगरबासीलाई त्यस किसिमको राहत उपलब्ध गराउन थालेको नगर प्रमुख बलदेव चौधरीले बताउनुभयो ।

‘त्रियुगा नगरपालिकाले नगरको बजेट बाहेक सहयोग गर्न चाहने दाताहरुलाई समेत ध्यानमा राखेर त्रियुगा राहत कोषमा रकम जम्मा गर्न अनुरोध गरेको भन्दै नगर प्रमुख चौधरीले भन्नुभयो ‘जिन्सी समान दिने चाहने सहयोगी हातहरुलाई उपप्रमुख देवी कुमारी चौधरीलाई सम्पर्क गरि दाल, चामल, नुन, तेल उपलब्ध गराउन आव्हान गरिएको छ ।’

नगरपालिकालाई दाताहरुबाट प्राप्त भएका समानहरु क्रमस वितरण गर्ने र अपुग भएमा नगरपालिकाले खरिद गरेर वितरण गर्ने योजना रहेको छ । नगरका विपन्नहरुको सबै लगत संकलन भई सकेकोले बाँकी वडामा पनि क्रमस राहत वितरण गर्दै लगिने कार्यक्रम रहेको त्रियुगा नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?