logo
२०८१ मंसिर ११ मंगलवार



लकडाउनले पीडित झन् मारमा, भोको पेटले भन्छ, ‘छिटो खाना ल्याऊ’

खुला |
समाज |


लकडाउनले पीडित झन् मारमा, भोको पेटले भन्छ, ‘छिटो खाना ल्याऊ’
तस्बिर–हरिबहादुर थापा


नारद गौतम
धर्मस्थली (काठमाडौं), चैत १८ गते । तारेकश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र उपप्रमुख भवानी डोटेल धितालले ‘कोही नगरबासी भोको बस्नु पर्दैन’ भनेर मार्मिक भिडियो सन्देश जारी गर्नुभएको छ । नगरपालिकाले विपन्न परिवारलाई कम्तीमा १० केजी चामलदेखि अन्य खाद्यान्न वितरण गर्ने योजना पनि बनाइसकेको छ ।

तर नगरपालिकाको मुख्य भवनको करिब सय मिटर दक्षिण र उत्तरमा रहेका केही स्थानीयवासीले भोको पेट बस्नु परेको गुनासो गर्नुभएको छ । मंगलबार गोरखापत्र समाचारदाता त्यहाँ पुग्दा टिनको टहरा मुनी बस्दै आउनु भएका स्थानीय ५५ वर्षका पूर्ण कपालीले भन्नुभयो, “सोमबार बेलुका खाएको थिएँ अहिलेसम्म (मङ्गलबार दिनको ४ बजे कुराकानी गर्दा) केही खाएको छैन” भन्नुभयो ।

वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले उहाँको घर भत्कियो, उहाँको बास त्यतिबेला विवरण गरिएका जस्ताको टहरा मुनी हुँदै आएको छ । कपालीले भन्नुभयो, म ग्यास बोकेर र अन्य काम गरेर खान्थेँ, काम नपाएपछि अहिले आम्दानी छैन, के ले किन्ने ? उहाँ अविवाहित हुनुहुँदो रहेछ । ‘यसले पाल्न सक्दैनन् भनेर कसैले बिहे गर्न नमानेको’ गुनासो पनि कपालीको छ ।

सोही स्थानका ६१ वर्षीय हीराबहादुर खड्गी बिरामी पर्नु भएको लामो समय भएको छ । मुख्य सडकबाटै उहाँ सुतेको देखिन्छ र ओछयान वरिपरि झिँगा भन्केको दृश्य कारुणिक छ । उहाँ एक्लै बस्दै आउनु भएको छ र विवाह पनि गर्नु भएको छैन । उहाँको खुट्टा सुनिएका छन् । “काम गर्न सक्दिनँ अरु परिवार छैनन्, कसले दिन्छ र खानु ?” उहाँले मधुरो स्वरमा आफ्ना पीडा पोख्नु भयो । उहाँको भूकम्पले भत्किाएको घर अझै बन्न सकेको छैन ।

भूकम्पबाट भत्किएको घर बनाउन ५० हजार रुपियाँ लिइसक्नु भएका अशोक खड्गीले पनि ज्यालादारी गर्दै पेट पाल्ने गरेको सुनाउनुभयो । उहाँले केही दिनयता काम बन्द भएकाले कमाइ पनि बन्द भएको बताउनुभयो । खड्गीले ५० हजार रुपियाँले घरको जग नै राख्न पुग्दैन, ईंटा नै आउँदैन, कसरी घर बनाउने भन्ने प्रश्न पनि गर्नुभयो ।

अर्का ५७ वर्षीय काले शाहीले छोराको कमाइबाट गुजरा चलाउँदै आएको र भूकम्पले भत्केको घर पनि बनाउन नसकेको जानकारी दिनुभयो ।
स्थानीय साजन शाहीले उहाँहरु त्यहाँका विपन्न परिवारका मानिस भएको बताउनुभयो ।

यी प्रतिनिधि पात्र मात्र हुन् । शहरमा धनी मात्र होइन अति विपन्न परिवारका मानिस पनि बस्दै आएका छन् । कोरोना भाइरसबाट जनतालाई सुरक्षित राख्न चैत ६ गतेबाट मानिसलाई घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ । नगरपालिकाले माइकिङ गरी कोरोनाबाट बच्न नागरिकलाई सचेत गराउँदै आएको छ भने वडास्तरबाट सडकमा स्प्रे गर्ने काम पनि हुँदै आएको छ ।

नगरप्रमुख बोहराले प्रदेशबाट १२ लाख र नगरपालिकाकोसहित करिब १५ लाख रुपियाँको खाद्यान्न कोष स्थापना गरेर नगरका ११ वटै वडाका विपन्न परिवारलाई खाद्य सामग्री वितरण गर्ने योजना बनाएको सुनाउनुभयो । नगरपालिकाले कम्तीमा १० देखि परिवारको संख्या हेरी २० केजी चामलसहित खाद्यान्न वितरण गर्ने योजना बनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बालाजु क्षेत्रमा खाद्यान्नको गोदाम राखेर विभिन्न स्थानमा खाद्यान्न उपलब्ध गराउने विषयमा छलफल भइरहेको भनाइ पनि प्रमुख बोहराको छ ।

‘भोको पेट भएकाले भन्छ डाँडा वारि खाउँ, अघाएकाले भन्छ डाँडा पारि खाऊँ’ भन्ने नेपाली उखान प्रचलित छ । सरकार विपन्न परिवारलाई राहत दिन तयार छ, बजेट र योजना पनि छ तर ओछ्यानमा सुतेर खान वाध्य हुनु भएका हीराबहादुर खड्गीजस्ताले कति दिनपछि खानेकुरा पाउने हुन्, भन्न कठिन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?