राजन रावत
सिमकोट चैत २० गते । कोरोना भाइसरको त्रासकाबिच लकडाउन जारी रहेका बेला किसानलाई भने कोदो छर्ने चटारो सुरु भएको छ । मनमा कोरोना संक्रमणको चिन्ता लिएरै पनि कोदो छर्ने सिजन सुरु भएको हुदा किसानहरु खेतबारीमा जान बाध्य भएका हुन ।
चैत्र दोस्रो हप्तापछि माथिल्लो हुम्लामा कोदो छर्ने सिजन सुरु हुन्छ तर यही बेला कोरोनो संक्रमणको बिश्यब्यापी त्रासदी भएपनि हुम्लाका किसानहरु भने कोदो छर्न लकडाउन चलेको भएपनि खेतबारीमा जान बाध्य भएको सिमकोट गाउँपालिका वडा नम्बबर ५ का लोकेन्द्र रावतले बताउनुभयो । तीन हल गोरु जोतेर कोदो छरेको बताउने रावतले अहिले नछरे कार्तिकमा कसरी अन्न भित्र्याउन पाइन्छ भनेर उल्टै प्रश्ना गर्नुभयो । अहिलेको अबस्था किसानका लागि रहर नभएर बाध्यता हो । लकडाउन चलेको बेला कोही पनि घरबाहिर निस्कुन हुदैन भन्ने किसानहरु जानकारी भएर पनि खेतबारीमा काम गर्न जानु आबश्यक रहेको उहाँले बताउनुभयो । अब हुम्लामा फल्ने प्रत्येक बाली लगाउने सिजन सुरु हुने भएको कारण दैनिक जसो किसानहरुले खेतबारीमा जानै पर्छ ।
यसपछि आलु, चिनो, फापर, कागुनो लगाएतका बालीहरु छर्ने समय पनि सुरु हुनेछ । यो किसानहरुका लागि खेतबारीमा जोत्नका लागि भ्याई नभ्याई हुने समय भएको कारणले पनि किसानहरु काममा निस्कनु बाध्यता रहेको सिमकोट गाउँपालिका वडा नम्बर २ का किसान भ्याल बोहराले बताउनु भयो । अहिले बिहान छ बजेबाट बेलुका सात बजेसम्म खेतमा काम गर्ने समय हो, त्यसैले किसानहरु कोरोनाको डरका बाबजुद पनि काम गर्न निस्केका हुन । यसलाई कसैले पनि लकडाउन उलंघङ्न गरेको रुपमा नबुझ्न पनि उहाँले आग्रह गर्नुभयो । बरु किसानहरुले पनि हुलमुल र भिडभाड भने गर्न नहुने बताउदै उहाँले सबैले मास्क प्रयोग गर्ने र बेलाबेला साबुन पानीले हात धुने काम भने बिर्सन नहुने बताउनुभयो ।
किसानको खेतबारीमा काम गर्ने सिजन भएकै कारण लकडाउनमा पनि किसानलाई काम गर्न नरोकेको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताउनु भयो । एक एक जना गरि काम गर्न जान दिएको उहाँले बताउनुभयो । यो गरि खाने बेला भएको कारण काम गर्न रोक्न पनि नसकिने अबस्था नरहेको उहाँले बताउनुभयो । खाली किसानहरुले साबधानी अपनाएर काम गर्नु पर्ने सुझाब उहाँको छ । यसमा किसानहरुले पनि साबधानी अपनाउनु आबश्यक छ ।