logo
२०८१ मंसिर ११ मंगलवार



जोखिममा रहेका बाँकेका ४७ एम्बुलेन्स चालकलाई पिपीई वितरण

खुला |


जोखिममा रहेका बाँकेका ४७ एम्बुलेन्स चालकलाई पिपीई वितरण


सिराज खान
नेपालगञ्ज, चैत २१ गते । एउटा साधारण मास्कको भरमा मात्रै विरामीहरुलाई ओसार पसार गर्दै आएको हुँदा अतिनै जोखिममा रहेका बाँकेका एम्बुलेन्स चालकहरुलाई व्यक्तिगत सुरक्षा कवच पीपीई सेट उपलब्ध गराईएको छ ।

बिरामी ओसारपसार गर्ने कार्य निरन्तर गर्दै आएकोले कोरोना संक्रमणको जोखिम अत्याधिक रहेकोले व्यक्तिगत सुरक्षा कवच नभए काम गर्न नसक्ने चेतावनी समेत दिएका जिल्लाका ४७ जना एम्बुलेन्स चालकहरुलाई पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले पीपीई सेट उपलब्ध गराउनु भएको छ ।
एम्बुलेन्स चालकहरुले व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सामाग्रीको माग गरेकोले ४७ जना चालकलाई स्थानीयस्तरमै तयार गरिएको व्यक्तिगत सुरक्षा कवच पीपीई सेट वितरण गरिएको पुर्वमन्त्री राईले बताउनु भयो ।

सांसद राईद्धारा आफ्नो निजि लगानीमा एम्बुलेन्स चालकहरुलाई वितरण गरिएको व्यक्तिगत सुरक्षा कवचमा हरेकलाई एक थान पीपीई, एक थान सर्जिकल लामो गमबुट, एक थान टाउकोमा लगाउने सर्जिकल कभर, एक थान सर्जिकल मास्क र एकथान फेस शिल्ड रहेको छ ।

व्यक्तिगत सुरक्षा कवच पाएपछि अब ढुक्क भएर बिरामी ओसार पसार गर्ने कार्यमा लाग्ने एम्बुलेन्स चालक जान अलीले बताउनु भयो । उहाँले आफूहरु पनि जोखिममा रहेकोले लामो समयदेखि व्यक्तिगत सुरक्षा कवच माग गर्दै आएको बताउनु भयो ।

यस्तै अर्का एम्बुलेन्स चालक मधु बोगटीले व्यक्तिगत सुरक्षा कवच विना काम गर्न निकै डर लागिरहेको बेला पुवमन्त्री राईले उपलब्ध गराउनु भएकोमा आभार व्यक्त गर्नु भयो ।
यसैविच कोरोना भाइरसबाट संक्रमित भै गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा उपचार गराउने विरामीको उपचारमा संलग्न चिकित्सकलाई सहज हुने गरि तयार पारिएको १० थान ऐरोसोल बक्स पनि विभिन्न अस्पतालहरुलाई पुर्वमन्त्री राईले उपलब्ध गराउनु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताललाई २ थान, नेपालगञ्ज शिक्षण अस्पताललाई ३ थान, भेरी अस्पताललाई ३ थान र आइसोलेसन अस्पताल बनाईएको क्यान्सर अस्पताल खजुरालाई २ थान ती एरोसेल बक्स उपलब्ध गराईएको उहाँले बताउनु भयो ।

नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले कोरोनाको संक्रमणबाट गम्भीर भएर भेन्टिलेटरमा उपचार गराउने विरामीको उपचारमा संलग्न चिकित्सकको सुरक्षाका लागि ऐरोसोल बक्स निकै महत्वपूर्ण रहेको बताउनु भयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?