गोकर्ण दयाल
बैतडी, चैत २१ गते । नरभक्षी चितुवा समाप्त विज्ञले बनाएको खोरमा चितुवा परेपछि बैतडीको तल्लो स्वराड क्षेत्रमा खुशीयाली छाएको छ । शुक्रबार बिहान मेलौली नगरपालिका –९, विशालपुरको डाँफेपिपल गाउँमा चितुवा खोरमा फसेको हो ।
चितुवाले सोही गाउँमा गत फागुन अन्तिम साता घरभित्र पसेर नौ वर्षिया बालिका सेतु लुहारलाई तानेर जङ्गलमा लगेर खाएको थियो । नेपालकै बढी चितुवा प्रभावित जिल्लाका रुपमा बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले २५ जना मान्छेको शिकार गरिसकेको छ । नरभक्षी चितुवा समात्न बरिष्ठ वन्यजन्तु अधिकृत विष्णुबहादुर लामा र जुनियर वन्यजन्तु प्राविधिक रमेश दराई बैतडीको तल्लोस्वराड पुगेर खोर निर्माण गर्नुभएको थियो । विज्ञ टोलीले बनाएको काठको खोरमा चितुवा फसेको खबर आएकोले चितुवालाई बेहोस गरेर बैतडीमा राष्ट्रिय निकुञ्जमा पठाउन पहल भईरहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।
चितुवालाई डाट्रिङ गरेर बेहोस बनाउने टोली चिवनबाट हिँडी सकेको विज्ञ बरिष्ठ वन्यजन्तु अधिकृत विष्णुबहादुर लामाले बताउनुभयो । लामाले भन्नुभयो–“माघ समात्न हामी चितवनबाट हिँडीसकेका छौं । अहिले बाटोमै छौं र रातीनै बैतडी आईपुग्छौं ।”
चितुवा खोरमा पसेपछि गाउँमा खुशीयाली छाएको मेलौली नगरपालिका –९,का वडा सदस्य भीम भट्टले बताउनुभयो । जुन बाटो आएर नौ वर्षिया बालिकालाई खाएको थियो सोही बाटोमा निर्माण गरिएको काठको खोरमा चितुवा फसेको भट्टले बताउनुभयो । खोरभित्र बाख्राको पाठो राखिएको थियो । बाघले पाठोलाई भने मारेको उहाँले जानकारी दिनुभयो । २०६८ साल असारदेखि २०७६ फागुनसम्म बैतडीको तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चितुवाले अक्रमणमा गरेर २५ जना बालबालिकाले ज्यान लिईसकेको छ भने १३ जना घाईते÷अपाङ्ग बनाएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।
आठ वर्षको अवधिमा चितुवाको आक्रमणमा परेर ज्यान गुमाउने बालबालिकामा विशापुरका वीरबहादुर चन्द (डेढ वर्ष ) उदयदेवका सुनिल साउद (अढाई वर्ष) पञ्चेश्वरकी सुनिता साउद ( १० वर्ष) किथ्थी देवी साउद (२७ वर्ष) र आशाकुमारी कोली (१३ वर्ष) रहेका छन् ।
त्यसैगरि कुलाउकी निर्मला कुमारी ११ वर्ष, विशालपुरका दिपक चन्द ४ वर्ष, नवीन भट्ट ६ वर्ष, सुरज लोहार १० वर्ष, चम्फाकुमारी भट्ट ११ वर्षका रहेका छन् । आमचोराकी सुप्रिया चन्द ४ वर्ष र मञ्जु चन्द ८ वर्षका रहेका छन् ।
त्यसैगरि ज्यान गुमाउनेमा गिरेगाडाका सन्तोष चन्द ७ वर्ष, शर्मालीकी पार्वती चन्द, आमचोराका महेश चन्द ४ वर्ष, विशालपुरकी कोपिला चन्द डेढ वर्ष, र प्रतिष्ठाकुमारी बिष्ट ३ वर्ष, सपना लुहार १६ वर्ष, डम्बर सोनी ८ वर्षका पनि विशालपुरकै रहेका छन् । ज्यान गुमाउनेमा उदयदेवकी ललिता साउद ६ वर्ष, महाकालीका सचिन साउद, उदयदेवका चन्चला साउद ७ वर्ष, उजली साउद १२ वर्ष र शिवनाथका सुदिप मडै ७ वर्षका, सेतु लोहार नौ वर्षका गरि २५ जनालाई चितुवाले आहारा बनाईसकेको छ ।