टीकाबहादुर बस्नेत
दाङ, चैत २१ गते । कोरोना भाइरसकोे परिक्षणका लागि दाङबाट काठमाडौँ पठाएका १६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा कोरोना विशेष अस्पताल बेलझुण्डीबाट नमुना परिक्षणका लागि काठमाडौँ पठाइएका १६ जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समितिका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो ।
रिपोर्ट नेगेटिभ देखिएका ११ जना कोरोना विशेष अस्पताल बेलझुण्डीबाट र ५ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट होम क्यारेन्टाइनमा बस्न भन्दै डिस्चार्ज गरेको चन्दले जानकारी दिनुभयो ।
कोरोना संक्रमित युवतीसँगै आएका युवाको रिपोर्ट नेगेटिभ
यसैबीच फ्रान्सबाट कतार हुँदै काठमाडौँ उत्रेकी कोरोना संक्रमित १९ वर्षिय किशोरीसँगै यात्रा गरेका दाङका २ युवाहरुको रिपोर्ट पनि नेगेटिभ देखिएको छ । आइसोलेसनमा राखेर स्वाव परिक्षण गरेका बबई र राजपुर गाउँपालिकाका दुई युवाहरुको कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको चन्दले जानकारी दिनुभयो ।
४ जना आइसोलेसनमा र २३ जना क्वारेन्टइनमा
कोरोना भाइरसको संक्रमणको आशंकामा जिल्लामा ४
जनालाई आइसोलेसन र २३ जनालाई क्वारेन्टाइनमा राखेर उपचार गराइरहेको सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो । कोराना विशेष अस्पताल बेलझुण्डीमा ४ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको भन्दै चन्दले उनीहरुको स्वाव परिक्षणका लागि शुक्रार काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।
चन्दका अनुसार कोरोना विशेष अस्पतालमा उपचाररतमध्ये कतारबाट आएका व्यक्ति र उनकी श्रीमती, काठमाडौँबाट आएका १ जना र भारतको मुम्वईबाट आएका १ जना रहेका छन् । चारैजनामा ज्वरो र खोकी लागेकाले कोरोना भाइरसको आशंकामा आइसोलेसनमा राखेको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।
दाङका विभिन्न स्थानमा गरी २३ जनालाई क्वारेन्टाइनमा राखेर उपचार गराइरहेको चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार
बबई गाउँपालिकामा १३ जना, तुलसीपुर उपमहानगरपालिकामा ७ जना र घोराही उपमहानगरपालिकामा ३ जनालाई क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ । क्वारेन्टाइनमा बस्नेहरुको भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिहरु रहेको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।