logo
२०८१ मंसिर ११ मंगलवार



सर्लाहीको ग्रामिणबस्तीमा लक डाउन प्रभावहिन, विदेशबाट फर्किएकाहरु खुलेआम बाहिर

खुला |
समाज |


सर्लाहीको ग्रामिणबस्तीमा लक डाउन प्रभावहिन, विदेशबाट फर्किएकाहरु खुलेआम बाहिर



जनार्जन खत्री
सर्लाही, चैत २१ गते । सर्लाहीको बजार क्षेत्रमा लकडाउनको पालना भइरहे पनि ग्रामीण भेगमा भने अवज्ञा हुने थालिएको छ । जिल्लाका भित्री बस्तीहरुमा अत्यावश्यक अवस्थामा बाहेक समेत मानिसहरु जथाभावी घरबाहिर निस्कन थालेका छन् । यसले गर्दा हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) भित्रने जोखिम बढेको भन्दै वुद्धिजीविहरुले चिन्ता व्यक्त गरेका छन् । सर्लाहीको दक्षिण–पूर्व भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा मानिसहरु आफूहरु घरबाहिर निस्किएर हिँड्डुल गरिरहेका छन् ।

झाका अनुसार हरिपूर्वा क्षेत्रमा भारत तथा अन्य मुलुकबाट भर्खरै गाउँ फर्किएकाहरु समेत क्वारेन्टाइनमा नबसी खुलेआम रुपमा बाहिर हिँडिरहेका छन् । प्रहरीको आँखा छलेर सर्लाहीका अन्य भित्री नगरपालिका तथा गाउँपालिकाका बस्तीहरुमा मानिसहरु जताततै हिँडडुल थर्न थालेका गुनासो आएको हो । यस्तै, जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिकाको सिसौट बजारमा मानिसको ठूलो भिडभाड जम्मा भएर बजार बसिरहेका छन् ।

लक डाउनपछि जिल्ला सदरमुकाम मलङ्गवासहित लालबन्दी, हरिवन, बयलवास, बरहथवा जस्ता प्रमुख बजार पूर्ण रुपमा ठप्प छन् । तर ग्रामीण भेगमा भने शुरुका केही दिनमा स्थानीयबासिन्दा आफैँ सक्रिय भएर छेकबार गरी लक डाउनको कार्यान्वयन गराए पनि अहिले भने जथाभावी हिँड्डुल गर्न थालिएको छ । यस्तै, सर्लाहीको दक्षिणी भेगस्थित खुला सीमा नाकाबाट खेतबारीको बाटो हुँदै केही मानिस लुकिछिपी जिल्ला प्रवेश गरिरहेका स्थानीयबासिन्दाले बताएका छन् ।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले लक डाउनको कार्यान्वयन गराउन जिल्लाभर नै प्रहरी परिचालन भइरहेको जानकारी दिँदै व्यक्ति स्वयंको सुरक्षाका लागि घोषणा गरिएको लक डाउनको पालना गरी अत्यावश्यक काम परेको समय बाहेक घरबाहिर ननिस्किन आग्रह गर्नुभएको छ । उहाँले नेपाल भारत दुबै तर्फ अहिले लक डाउन चलिरहेको अवस्थामा एक देशबाट अर्को देशमा मानिस भित्रिन नदिन दुबै देशको तर्फबाट सीमा क्षेत्रमा कडा निगरानी गरिरहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?