गाईघाट,समाचारदाता
गाईघाट,चैत २२ गते । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएका उदयपुरका तीनजना युवाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सिंगापुरबाट नेपाल भित्रिएका त्रियुगा नगरपालिका वडा नं ६ जलजलेका ३५ वर्षीय विजय चौधरीको स्वाब (खकार)को परीक्षण रिपोर्ट नेगेटिभ आएको उदयपुर जिल्ला अस्पतालले जनाएको छ ।
त्यसैगरी कतारबाट फर्केका बेलाका नगरपालिका वडा नं ३ का ३६ वर्षीय विद्यानन्द चौधरीको रिपोर्ट पनि नेगेटिभ आएको थियो । चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल फर्केकी युवती कोरोना संक्रमित भेटिएपछि सोही दिन कतार एयरवेजकै अर्को जहाजबाट फर्केका चौधरीमा संक्रमणको आशंका गरिएको थियो ।
चैत ४ मै क्युआर ६५२ फलाईटमा नेपाल भित्रिएका चौधरी अहिले घरकै क्वारेन्टाइनमा रहदै आउनुभएको छ । चौधरीले आफूमा कोरोनाको कुनै लक्षण नभएको टेलिफोन मार्फत जानकारी दिनुभएको छ । त्यस्तै संक्रमित युवती सवार क्युआर ६५० फलाईटमा आएका लिम्चुङबुङ गाउँपालिका वडा नं ३ का दिपबहादुर मगरको पनि स्वास्थ्य परिक्षण रिर्पोट नगेटिप आएको हो ।
अस्पतालले उहाँहरुको स्वाब परीक्षण गर्न बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको र धरानले शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाएको थियो । टेकुले परिक्षण गरी पठाएको रिपोर्टले उहाँहरु तीनै जनामा कोरोना नेगेटिभ देखाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डाक्टर जिवनारायण मण्डलले बताउनुभयो । उहाँहरुलाई घरमै क्वारेनटाइनमा राखिदै आएको छ ।