कैलाश लामा
चरिकोट, दोलखा, चैत २२ गते । २०७२ सालको भुकम्पले ठूलो क्षति पु¥याएको दोलखाको उत्तरी व्यापारिक केन्द्र सिंगटीले भर्खरै तंग्रिदै गर्दा फेरि कोरोना भाइरसको प्रहार खेप्नुपरेको छ ।
विनाशकारी भुकम्पमा जिल्लामै सबैभन्दा बढि मानवीय र भौतिक क्षति बेहोरेका सिंगटी बजारलाई एक पटक पुनः कोरोनाले आक्रमण गरेको हो ।
कोरोना र त्यससम्बन्धी लकडाउनका कारण अहिले यो बजारको चहलपहलमा पूर्णविराम लागेको छ ।
भौतिक क्षेत्रको पुनर्निर्माण पछि आर्थिक क्षेत्रको पुनर्निर्माणमा लम्किएको सिंगटीको गतिलाई कोरोनाले पुनः रोकेको विगु गाउँपालिका वडा नम्बर –४ सिंगटीका व्यापारी कुसुले तामाङ बताउनुहुन्छ । ‘भुकम्पको वेला त चहलपहल थियो अहिले त त्यो भन्दा पनि ठूलो संकट आईपर्यो ।’ उहाँले भन्नुभयो, ‘यस्तै हो भने बैंक र सहकारीको ऋण लिएर बनाएको घरको किस्ता तिर्न नसकि घरनै लिलाम हुन सक्छ।’
भुकम्पले यहाँका ९५ प्रतिशत भवनमा पुर्ण रुपमा क्षति पुयाएको थियो भने १८ जनाको मृत्युु भएको थियो । जिल्लामै सबैभन्दा बढि धनजनको क्षति बेहोर्नुपरेका सिंगटीबासीले सरकारको भुकम्प आवास निर्माण अनुदान र बैंक तथा सहकारीबाट ऋण लिएर घर बनाएका थिए । तर कोरोना तथा लक डाउनका कारण किस्ता तिर्न नसक्ने अवस्थामा पुगेको व्यापारी तामाङ बताउनुहुन्छ ।
कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिकाको मुख्य बजारको रुपमा स्थापित सिंगटीमा अहिले मान्छेको आवतजावत ठप्प छ । एकाध खाद्यान्न पसल खोलेका छन् भने खाद्यान्न तथा फलफुल ढुवानी गर्ने सवारी साधन भन्दा अरु चल्न सकेको छैन । करिब तीन सय ५० व्यापारीहरुले उत्तरका तीन गाउँपालिकामा मालसामान बिक्री गर्दा दैनिक तीन करोड रुपियाँको हाराहारीमा आर्थिक कारोबार हुने यो बजार कोरोनाले ठप्प पारेको स्थानीय व्यापारी पदम पाण्डेले बताउनुभयो ।
लकडाउन पछि सदरमुकाम चरिकोटबाट ३५ किलोमिटरको दुरीमा अवस्थित सिंगटी बजार प्रवेश गर्नुपूर्व प्रहरी र स्वास्थ्यकर्मीले चेकजाँच गरेर मात्रै सिंगटी प्रवेश गर्न दिएका छन् । विगु गाउँपालपकाले सिंगटीमा आठ बेडको क्वारेन्टाइन तयार गरेका छन् भने सिमाना जोडिएको कालिञ्चोक गाउँपालिकाले पाँच बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेका छन् ।
गाउँपालिकाले गाउँ बस्तीमा कोरोना सतर्कता सम्बन्धि जानकारी गराई आवश्यक औषधी प्रत्येक स्वास्थ्य चौकीमा उपलब्ध गराएको भएपनि दक्ष जनशक्तिको अभावले आइसोलेसन लगाएतको तयारी भने गर्न सकेको छैन् । र कोरोनाको मारमा परेका व्यावासीहरुको हकहितका लागि हालसम्म सहयोग गरेका छैनन् ।
तीनै तहका सरकारले सञ्चार माध्यमा यो गर्छु, त्यो गर्छु भनेर बोल्ने काम बाहेक कोरोना भाईरस संक्रमण न्यूनीकरण र त्यसबाट धराशायी बनेका व्यापार व्यवसायीलाई राहत मिल्ने ठोस नीति ल्याउन नसकेको दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखा अध्यक्ष महेश श्रेष्ठ बताउनुहुन्छ । उहाँले कोरोनाबाट बाचिएछ भनेपनि आर्थिक समस्याबाट बाच्न मुस्किल हुने बतउनुभयो ।
गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले हाल पहिलो प्राथमिकता कोरोना संक्रमण फैलन नदिनु रहेकाले गाउँपालिका कोरोना भाइरस संक्रमण केन्द्रित कार्यक्रममा लागेको बताउनुभयो ।
उहाँले विनाशकारी भुकम्पबाट भर्खरै तंग्रिदै गरेका व्यापार व्यवसायमा अर्को महामारी कोरोनाका कारण ठुलै गिरावट आएको भएपनि व्यापार व्यवसायलाई समेत राहत मिल्ने कार्यक्रम छिट्टै ल्याउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
सरकार र राष्ट्र बैंकले जारी गरेको बैकहरुले चैत महिनाको सावाँ व्याज लिन नमिल्ने सर्कुलरलाई अक्षरस पाला गर्न लगाउने बताउदै अध्यक्ष खड्काले घरवेटीहरुलाई पनि कम्तीमा एक महिनाको भाडा छुट गर्न अनुरोध गर्ने बताउनुभयो ।