शिवशंङ्कर मिश्र
बारा, चैत २२ गते । कोरोना भाइरस संक्रमणको जोखिमका कारण एक वर्ष भन्दा कम समय कैद ठहर भएका वीरगंज कारागारका कैदी बन्दीहरु जरिवाना तिरी रिहा भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगतगरि जिल्ला अदालत बारा, पर्साको आदेश बमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका १७ कैदी बन्दीलाई छाडिएको वीरगंज कारागारका जेलर श्रवण पोखरेलले जानकारी दिनुभयो ।
कोरोनाको सम्भावित जोखिमका कारण अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदी बन्दीलाई भुक्तानगर्न बाँकी रहेको समय वापतको रकम तिराएर छाड्न दिएको आदेशानुसार ती कैदीबन्दीबाट रकम तिराएर छाडिएको जेलर पोखरेलले बताउनु भयो ।
वीरगंज कारागारको कुल एक हजार कैदी राख्न क्षमता रहेपनि हाल एक हजार दुई सय ११ जना पुरुष, ९५ महिला र ३ नाबालकगरि एक हजार ३ सय ९ जना कैदीबन्दी रहेका छन् ।
कोरोना भाइरसको महामारीको जोखिम नियन्त्रणका लागि चैत्र ७ गते सर्वोच्च अदालतको पूर्ण बैठकको २३ बुन्दे परिपत्र अनुसार महान्यायाधीवक्ताको कार्यालयबाट अनुरोध भइआएको सिफारिसमा कैदीबन्दीको भीडभाड कमगर्र्न कैद वापत रकम असुलगरि बारा, पर्सा अदालतमा ३७ जना कैदीबन्दीको नाम सिफारिस भएको मध्ये १७ जना कैदी बन्दी छुटेको जेलर पोखरेलले बताउनु भयो ।
यसैविच कोरोना भाइरसको संक्रमण नबढोस् भन्ने उद्देश्यले कैदीबन्दीसँग बाह्य भेटघाटलाई पूर्णरुपमा बन्द गरिएको छ । लकडाउन पछि २६ जना नयाँ कैदीबन्दी थपिएको छ ।