logo
२०८२ जेष्ठ २६ आईतवार



छुट्न थाले कैदीबन्दी

खुला |


छुट्न थाले कैदीबन्दी


भउचप्रसाद यादव

काठमाडौँ, चैत २३ गते । मुलुकका विभिन्न कारागार र बाल सुधारगृहबाट ३०५ जनालाई रिहा गरिएको छ । कारागारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम गर्न एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका बालबालिका तथा कैदीबन्दीलाई रिहा गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
मुुुलुकका विभिन्न बाल सुधारगृहबाट एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका १७४ जना बालबालिका र कारागारबाट १३१ गरी जम्मा ३०५ जनालाई बिहीबारसम्म रिहा गरिएको जानकारी कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले दिनुभयो । उहाँका अनुसार सुधारगृहमा रहेका बालबालिकालाई अदालतको रोहबरमा आमाबाबु वा अभिभावकको जिम्मा लगाइएको छ ।
कारागारबाट छुट्न पाऊँ भन्दै बिहीबारसम्म ३४६ जनाले विभिन्न कारागारमा निवेदन दिएका थिए । बाँकी निवेदनमाथि आवश्यक कारबाही अगाडि बढाइएको उहाँले बताउनुभयो ।
सर्वोच्च अदालतले दिएको आदेशअनुसार मुद्दाको अन्तिम टुङ्गो लागेकाकहरू रिहा भएका हुन् । पुनरावेदन चलिरहेका मुद्दाका कैदीबन्दी भने अहिलेको अवस्थामा रिहा हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
“सर्वोच्च अदालतको आदेशमा यसरी छुट्ने कैदीबन्दीलाई कैदका साथै जरिवाना गरिएको छ भने जरिवाना बुझाएको हुनुपर्ने हुन्छ र बाँकी रहेका कैद भुक्तानीका लागि प्रतिदिन तीन सय रुपियाँका दरले राजस्व बुझाएको हुनुपर्छ”, उहाँले भन्नुभयो । यसरी कैदीबन्दीलाई रिहा गर्न सम्बन्धित जिल्ला अदालतको समेत आदेश हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिन नदिन एक वर्षभन्दा कम कैद सजाय भएका कैदीबन्दीलाई रिहा गर्नुपर्ने महान्यायाधिवक्ताको कार्यालयको अनुरोधमा सर्वोच्च अदालतबाट भएको आदेशका आधारमा कैदीबन्दी रिहा गर्न सुरु गरिएको हो । मुलुकभरिका विभिन्न कारागारमा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्न लागिएको जानकारी महानिर्देशक कणेलले दिनुभयो । सुनसरीको झुम्का कारागारमा प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा १२ जना बिरामीका लागि क्वारेन्टाइन निर्माण गरिएको जानकारी उहाँले दिनुभयो ।

कारागारभित्रै आइसोलेसन
सुन्धारास्थित केन्द्रीय कारागारमा बीस जनालाई राख्ने गरी क्वारेन्टाइन निर्माण गरिएको छ भने ललितपुरस्थित नख्खु कारागारको मनोपरामर्श अस्पतालमा बीस जनाका लागि आइसोलेसन निर्माण गरिएको छ । सोही अस्पतालको महिला वार्डमा एक सय जनाका लागि क्वारेन्टाइन निर्माण गर्ने निर्णय भइसकेको जनकारी उहाँले दिनुभयो ।
कारागारहरूमा नयाँ आउने कैदीबन्दीलाई कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा राखेर मात्र कारागारभित्र प्रवेश गराइने व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।
यस वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार मुलुकभरिको कारागारमा पुरुष २३ हजार ४३१, महिला एक हजार ४९७ जना, आश्रित ८४ जना, विदेशी एक हजार २१४ जना गरी कुल कैदीबन्दी २४ हजार ९२८ जना छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?