हुम्ला समाचारदाता
सिमकोट, चैत २० गते । संभाबित कोरोना भाइरसको संक्रमण बिरुद्धको तयारी गर्नका लागि हुम्लाका सात वटै गाउँपालिका उद्धार कोष स्थापना गरेर सञ्चालनमा ल्याएका छन् । पुर्ब तयारी गर्नका लागि आबश्यक सामाग्री र उपकरणको बन्दोबस्ती गर्न सो कोष खडा सञ्चालनमा आएका हुन ।
गाउँपालिका स्तरमा पनि बिपद कोष खडा भएर रकम ब्यबस्थापन गर्ने काम सुरु सञ्चालनमा आएको छ । उक्त कोषमा अदानचुली गाउँपालिकाले बीस लाख जम्मा गरेको छ । उपचारका लागि आबश्यक उपकरणको ब्यबस्था गर्ने र क्वारेन्टाइनको ब्यबस्थाका लागि खर्च पनि गरिएको गाउँपालिका अध्यक्ष दल बहादुर फडेराले बताउनु भयो । त्यसै गरि सिमकोट गाउँपालिका गाउँन्पालिकाले दश लाखको कोष खडा गरि संञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताउनु भयो । सो गाउँपालिका उपकरण खरिदका लागि अर्डर पनि गरेको जनाएको छ भने सिमकोटमा स्थापना भएका क्वारेन्टाइनमा पनि खर्च गरि सकेको छ ।
त्यसै गरि खार्पुनाथ गाउँपालिकाले दश लाखको कोष खडा गरि उपकरण खरिदको प्रकृयामा रहेको र पालिका स्तरमा क्वारेन्टाइन स्थापना गरि सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताउनु भयो । यता नाम्खा गाउँपालिकाले पाँच लाख, ताँजाकोट गाउँपालिकाले पाँच र सर्केगार्ड गाउँपालिकाले पनि पाँच लाखको कोष खडा संञ्चालनमा ल्याएको जनाएका छन् । चंखेली गाउँपालिकाले पन्द्र लाखको उद्धार कोष खडा गरि संचालनमा ल्याएको जनाएको छ । त्यति मात्र होइन सबै गाउँपालिकाहरुले आबश्यक परे अरु बजेट पनि कोषमा जम्मा गर्न सकिने र अहिलेको महामारीबाट बच्न अरु शिर्षकको बजेट पनि गाउँसभाबाट रकमान्तर गर्ने खरि खर्च गर्न सकिने जनाएका छन् ।
जिल्ला बिपद ब्यबस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईका अनुसार जिल्लामा हालसम्म बिपद कोषमा ५२ लाख ३४ हजार नगद तथा आबश्यक सामान कोषमा जम्मा हुने प्रतिबद्धता आएको र त्यही अनुसार खर्च गर्ने कार्य पनि भै रहेको छ ।