नारायणगढ समाचारदाता
भरतपुर चैत २४ गते । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सोमवारवाट चितवनको भरतपुरमा पनि शुरु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको विज्ञ टोलीको समन्वयमा भरतपुरको राष्ट्रिय पंक्षि रोग अन्वेषण केन्द्रमा स्थापित भरतपुर कोभिड–१९ प्रयोगशालावाट परिक्षण शुरु गरिएको हो ।
चितवनकै स्थानिय स्रोत साधन र जनशक्तिवाट कोरोना परिक्षणकालागि भरतपुर कोभिड–१९ प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । पहिलो दिन सोमवार नै १६ वटा नमुना परिक्षण गरिएको कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डा. भोजराज अधिकारीले वताउनुभयो । यसको रिपोर्ट भने साँझ अवेर सम्म आउने जानकारी पनि उहाँले दिनुभयो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जैविक सुरक्षामा अवलम्बन गर्नुपर्ने सवै मापदण्ड पालना गरि परिक्षण शुरु गरिएको प्राविधिक टोलीको नेतृत्व गरि रहनु भएका नेपाल स्वास्थ्य व्यवसायीक परिषदका रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृषि तथा वन विश्व विद्यालय रामपुरमा रहेकोे पिसिआर मेसिन र दक्ष प्राविधिक, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई मेडिकल कलेज र राष्ट्रिय पंक्षि रोग निदान केन्द्रका प्राविधिकहरु परिचालन गरेर प्रयोग शाला सञ्चालनमा ल्याइएको हो । प्रयोग शाला सञ्चालनका लागि मन्त्रालयवाट खटि आएको खनाल नेतृत्वको प्राविधिक टोलीले नियमित परामर्श दिइ रहेको छ ।