logo
२०८१ माघ १० बिहीवार



ट्रमा सेन्टरमा घाइते विरामी घटे, सम्भावित सङ्क्रमितको उपचारमा तत्पर

खुला |


ट्रमा सेन्टरमा घाइते विरामी घटे, सम्भावित सङ्क्रमितको उपचारमा तत्पर


सञ्चिता घिमिरे

काठमाडौँ, चैत २५ गते । ‘लकडाउन’ का अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्दा सडक दुर्घटनाका घाइतेको सङ्ख्या घटेपछि कोरोना भारइसको सम्भावित सङ्क्रमितको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ ।
कसो अस्पतालमा अहिले सामान्य अवस्थाभन्दा सबै घाइतेको सङ्ख्या कम भएकामा सडक दुर्घटनाका घाइते विरामी स्वभाविकरुपमा कम भएका छन् ।
यही चैत ११ गतेदेखि आइतबारसम्म अस्पतालको आकस्मिक कक्षमा ३२४ जना उपचारका लागि आएकामा सडक दुर्घटनाका ९४ आएका थिए । तीमध्ये ४९ जना बिरामी लडेर घाइते भएको र सात जना कुटपिटका कारण घाइते भएको पाइएको छ । यसअघि सडक दुर्घटनामा काठमाडौँ उपत्यकाका घाइते मात्रै आउने भएपनि अहिले देशभरका आउने गरेको अस्पतालका निर्देशक डा सञ्तोष पौडेलले बताउनुभयो । अहिले अन्य अस्पतालले घाइतेको समेत उपचार गर्न नमान्ने हुँदा अधिकांश बिरामी यहीँ आउन थालेका हुन् ।
यस अवधिमा बालिबालिका आफ्नै घरभित्रै लडेर घाइते भएका घटना भने बढेका छन् । अहिले अस्पतालको आकस्मिक कक्षमा आएकामध्ये आफ्नै घरभित्र लडेर घाइते भएका तीनचार जना बालबालिका उपचाररत रहेको निर्देशक डा पौडेलले बताउनुभयो ।
हाल मुलुकका विभिन्न जिल्लामा भएका दुर्घटनापछि घाइतेको हेलिकप्टरबाट उद्धार गरिएर वा एम्बुलेन्समार्फत काठमाडौँ आइरहेका छन् । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका बाहिरबाट आउने बिरामी यो समयमा पनि आइरहेका छन् ।”
अस्पतालले नियमित रुपमा सेवा दिइरहे पनि यहाँ आउने विरामीको सङ्ख्या कम छ र अस्पतालले पनि सकेसम्म चाँडो उपचार गरेर विरामीलाई छिटो घर फर्काउने गरेको छ । देश अहिले कोभिड–१९ को जोखिमको दोस्रो चरणमा प्रवेश गरिसकेकाले अन्य विरामीलाई चाँडो पठाएर सम्भावित सङ्क्रमणमा पर्नेका लागि तयारी गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आकस्मिक र तुरुन्त उपचार चाहिनेलाई उपचार गरेर सक्दो चाँडो घर फर्काइरहेका छौँ ।”
अस्पतालमा आउने दुर्घटनाका घाइतेमध्ये झण्डै २९ प्रतिशत घाइते सडक दुर्घटनाका हुने गरेको विगत तीन वर्षको तथ्याङ्कले देखाएको मेडिकल रेकर्ड अधिकृत सिद्धार्थ ढुङ्गानाले बताउनुभयो । केही दिन पहिले दोलखामा भएको बलेरो दुर्घटना हुँदा घाइते भएका छ जना यहाँ आएका बाहेक पछिल्ला दिनमा यस्ता घटनामा कमी आएको उहाँले बताउनुभयो । दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना हुँदा आउने घाइतेको सङ्ख्या यो अवधिमा न्यून छ ।
काठमाडौँ उपत्यका बाहिरका दुर्घटनाका थोरै जटिल घाइते मात्रै यस अस्पतालमा आउने गरेका थिए । ‘लकडाउन’ यता भने उपत्यका बाहिरका विरामी बढेका छन् । यसले केही सङ्ख्या थपेपनि समग्रमा दुर्घटना घटिरहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा गत वर्ष १८ हजार २६३ घाइते उपचारका लागि आएका थिए । तीमध्ये झण्डै पाँच हजार सवारी दुर्घटनाका घाइते थिए । अस्पतालको तीन वर्षको तथ्याङ्क हेर्दा सडक दुर्घटनाका घाइते २९ प्रतिशत र लडेर, कृषि काम गर्दा, कुटपिटलगायतका कारणले घाइते ६१ प्रतिशत रहेको पाइन्छ ।
सवारीसाधन गुड्न कम हुँदा काठमाडौँ उपत्कालगायतका शहरी क्षेत्रमा प्रदूषण हुनाका साथै सडक दुर्घटना ह्वात्तै घटेको हो । नेपालमा औसतमा दैनिक सात जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको भएपनि यो दुई सातामा यो सङ्ख्या व्यापक घटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?