बेलिना थापा
लमजुङ, चैत २५ गते । लमजुङको सुन्दरबजार नगरपालिका १ स्थित पात्ले सामुदायिक वनमा आगालागी भएको छ ।
वनमा गएराति आगालागी हुँदा करिव १५ हेक्टर वन जलेर सखाप भएको प्रहरीले जनाएको छ । सोमबार राति साँढे ९ बजेतिर अचानक आगालागी भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो । उहाँका अनुसार आगालागी भएको खबर पाउने वित्तिकै प्रहरी घटनास्थलमा खटिएका थिए । तत्काल कुञ्छा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक गुनबहादुुर थापाको कमाण्डमा ३ जना खटिनुभएको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा ७ जना प्रहरी टोली खटिएको थियो ।
आगो धेरै क्षेत्रफलमा फैलिएकाले प्रहरी र स्थानीयले नियन्त्रण गर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वनमा लागेको आगो सोमबार राति १२ बजेतिर आफैं नियन्त्रणमा आएको प्रहरी निरीक्षक पुनले बताउनुभयो । आगालागीबाट भने कुनै मानवीय तथा चौपाया क्षती भने भएको छैन । आगो कसरी लाग्यो भन्ने कुरा भने पत्ता लागेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।