पशुपतिनगर(इलाम)
चैत्र २५ गते । इलाम नगरपालिकाको सिंगफ्रिङ्ग स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट एक युवा फरार भएका छन् ।
इलाम अस्पतालले रेफर गरेपछि चैत्र २३ गते देखि उक्त अस्पतालेको क्वारेन्टाईनमा राखिएका सन्दकपुर गाउँपालिका ३ सुलुबङ्ग घर भएका सरोज अधिकारी सोमबार रातीबाट फरार भएका हुँन ।
अधिकारी भारतको सिलिगुडीबाट हालै घर आएका थिए । उनलाई कोरोना भाइरस सङ्क्रमण हुन सक्ने आशंकामा इलाम अस्पतालले क्वारेन्टाइनमा बस्नका लागि पठाएको थियो । भारतको सिलिगुडी क्षेत्रमा केही दिन अघि १ जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।
डा.मेघबहादुर पराजुली सामुदायिक अस्पताल क्वारेन्टाइन वार्डका इन्चार्ज दिपक पौडेलका अनुसार अधिकारीको स्वाब परीक्षण गर्नै नपाई उनी क्वारेन्टाइनबाट भागेका हुँन । पौडेलले अधिकारी कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएको हुँदा फरार भए पछि समुदायलाई नै कोरोना भाइरसको प्रकोपमा पार्न सक्ने सम्भावना रहेको इन्चार्ज पौडेलले बताउनु भयो ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले अधिकारीलाई कही कतै कसैले भेटेमा नजिकका जनप्रतिनिधिलाई खबर गरिदिन आग्रह गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक हीरा पाण्डेले अधिकारीको व्यापक खोजतलास भइरहेको जानकारी दिनु भएको छ ।