कालीकोट समाचारदाता
कालीकोट चैत २५ गते । कालीकोट जिल्लाका पाँच जनाको थ्रोट स्वाब ल्याब परिक्षणका लागि सुर्खेत पठाईएको छ । तेस्रो मुलुकवाट आएका पाँच जनाको स्वाब परिक्षण गर्नु पर्ने देखिएकाले जिल्ला अस्पताल कालीकोटले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी मार्फत पठाएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी हुनु भएका कानूनमन्त्री भण्डारी बैठक सम्पन्न पश्चात सोमबार पाँचजनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत जानु भएको हो ।तेस्रो मुलक मलेसियाबाट आएका सान्नी त्रिवेणी गाउँपालिका १ का एक, वडा नं २ का एक, कतारबाट आएका सोही गाउँपालिका वडा नं ४ का दुई र कैलालीवाट आएका शुभकालिका गाउँपालिका वडा नं ३ कालीकोटका एकजनाको थ्रोट स्वाब लिएर मन्त्री भण्डारी जानु भएको हो ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी कटक महतले पाँच जनाको स्वाब पठाएको पुष्टी गर्नुभयो । नेपाल सरकारले विदेशबाट आएका नागरिकको थ्रोट स्वाब अनिवार्य जाँच गर्ने निर्देशनानुसार सङकलन गरेर मन्त्रीकै सहयोगमा सुर्खेत पठाएको अधिकृत महतले वताउनुभयो । कानुनमन्त्रीका सल्लाहकार अनिल अधिकारीले कर्णाली प्रदेशको राजधानी प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण ल्याब भएकाले थ्रोट स्वाब परीक्षणका लागि मन्त्री आफैले साथमै लिएर आउनु भएको वताउनुभयो । कालीकोटमा १६५ पुरुष र ११ जना महिला गरी १७६ लाई यस अघि क्वारेन्टाइनमा राखिएको थियो ।
केहीले १४ दिन पूरा गरेर घर गएपछि हाल २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कालीकोट वैठकमा मन्त्री भण्डारीले कोरोना सङ्क्रमणको यो कठिन समयमा विपन्न नागरिकलाई राहतका लागि प्रदेश सरकारले कालीकोट विपद ब्यवस्थापन समितिलाई ५० लाख पठाएको वताउनभुयो । ५० लाख सबै स्थानीय तहले भाग गरेर वचेको १० लाख जिल्ला विपद ब्यवस्थान समितिले आवस्यक्ता अनुसार खर्च गर्ने गरि राखिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी गराउनुभयो ।