अमरराज नहर्की
तनहुँ, चैत्र २५ गते । तनहुँमा सुरक्षाकर्मीहरु पिपीइ बिनै सुरक्षा चेकजाँचमा खटिएका छन् । पिपीई विना खटिनु पर्दा कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुने त्रास उनिहरुमा छ । पिपिई प्राप्त हुन नसक्दा जोखिम लिएर काममा खटिनु पर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । काममा खटिने ५० जना सुरक्षाकर्मीलाई तत्कालै पिपिई आवश्यक परेको अधिकारी बताउनुहुन्छ । तनहुँको कोत्रेमा सुरक्षा चेक जाँच गरिरहेका कास्कीका प्रहरीलाई भने पिपिए पाए पनि तनहुँका प्रहरीले भने पाएका छैनन् । एकै ठाउँमा खटिएका सुरक्षाकर्मीहरुमा समेत भेदभाव भएको काममा खटिएका प्रहरीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवाल प्रहरी प्रधान कार्यालयले उपलब्ध नगराएको र कुनै सङ्घ संस्थाले नदिएकोले पिपिई बिना काम गर्न बाध्य भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले पनि पिपीइ खरिदका लागि प्रदेश सरकार र विभिन्न निकायसँग पहल भइरहेको बताउनुभयो । कोत्रे हेल्प डेस्कमै रहेका खैरेनीटार हेल्थपोष्टकी अनमी लक्ष्मीकला पण्डितले पनि निकै रिस्क मोलेर काम गर्नुपरेको बताउनुभयो । त्यही खटिएकी अहेब ममता थापाले समेत एउटा राम्रो मास्क समेत नपाएको गुनासो गर्नुभयो । उनीहरुले सिमानामा रहेको सो हेल्प डेस्कमा एउटा थर्मल गनको समेत व्यवस्था नहुँदा ज्वरो नाप्न अनमी लक्ष्मीकलाले बताउनभयो ।
गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीको पुलजिपमा खटिएका स्वास्थ्यकर्मीहरु पिपीइ बिनै यात्रुहरुको स्वास्थ्य परीक्षण गर्न बाध्य भएका छन् । त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुले पिपीइ बिनै सिमानामा आउने यात्रुहरुको स्वास्थ्य परीक्षण गर्न बाध्य भएका हुन । आँबुखैरेनी स्वास्थ्य चौकीबाट खटिएका २ जना स्वास्थ्यकर्मी दैनिक रुपमा आलोपालो गरी यात्रुहरुको थर्मल गनले ज्वरो नाप्ने देखि स्वास्थ्य परीक्षण गर्ने कार्य समेत गरिरहेका छन् । पिपीइ बिनै यात्रुको स्वास्थ्य जाँच गर्दा जोखिम रहेको हेल्थ असिस्टेन्ट शर्मिला गुरुङले बताउनुभयो । मास्कको भरमा आफुहरुले काम गरिरहेको शर्मिलाले गुनासो गर्नुभयो । चितवनको मुग्लिनबाट तनहुँ हुँदै गण्डकी प्रदेशको लमजुङ, गोरखा, कास्की, मनाङ, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, स्याङ्जा जाने उक्त ठाउँमा सुरक्षित सामग्रीको अभाव रहेको स्वास्थ्यकर्मीले बताए । त्यही खटिने सुरक्षाकर्मीले समेत एउटा मास्क बाहेक केही पाएका छैनन् ।
भारत लगायत धेरै मुलुकबाट गण्डकी प्रदेश प्रवेश गर्ने उक्त ठाउँमा सुरक्षाकर्मीले पनि जोखिम मोलेरै चेकजाँच गर्नु परेको बताउनुभयो । निरन्तर जोखिम लिएर काम गरिरहेका छौं तर जोखिमबाट बच्ने सामग्री हामीसँग छैन ड्युटीमा खटिएका एक प्रहरीले भन्नुभयो । आँबुखैरेनी गाउँपालिकाले इलाका प्रहरी कार्यालयसँग समन्वय गरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली राखेर हेल्थ डेस्क संचालनमा ल्याएको छ । हेल्थ डेस्कमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षाको लागि आवश्यक सामग्री तत्काल उपलब्ध गराउनु पर्ने आवाज नागरिक स्तरबाट उठिरहेको छ । सो हेल्थ डेस्कमा मुग्लिन पट्टी चितवन प्रहरी र तनहुँ पट्टी २ स्वास्थ्यकर्मी सहित ४ जना जनपथ प्रहरी, १ ट्राफिक प्रहरी, २ नेपाली सेना र २ जना सशस्त्र प्रहरी खटिएका छन् ।