धीरेन्द्रप्रसाद साह
राजविराज, चैत २५ गते । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा उपचारार्थ एक महिलाको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगटिभ भएको छ ।
गत शनिबार कोरोना भाइरस (कोभिड–१९) को सामान्य लक्षण देखिएपछि उनलाई अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार सुरु गरिएको छ । सोही दिन उनको थ्रोट स्वाब परीक्षणका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
सप्तरीको कञ्चनरुप नगरपालिका निवासी ४० वर्षीया महिलाको सोमबार साँझ प्राप्त स्वाब परीक्षणको रिपोर्टमा नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका डा. चुमनलाल दासले जानकारी दिनुभयो । भारतको राजस्थानबाट दुई साता अघि महिला घर आएकी थिइन । उनको रिपोर्ट नेगेटिभ आएपनि हाल आइसोलेशनमै राखेर उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो । उनको अवस्था सामान्य बन्दै गएको उहाँले भन्नुभयो, पहिलेको तुलानामा ज्वरो पनि घटेको छ ।
यस्तै राजविराजको एक क्वारेन्टाइनमा रहेका ११ जनाको पनि स्वाब रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । सप्तरी निवासी उनीहरु भारतको विभिन्न स्थानको जमातमा सहभागी भएर बिरंगज नाका भएर गृह जिल्ला प्रवेश गरेको थियो । राजविराजको क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण विरगंज अस्पतालले गरेको बताइएको छ ।
यता गत चैत ४ गते कतारको क्यूआर ६५२ नम्बरको जहाजबाट नेपाल फर्केका जिल्लाका एक जना र भारतको विभिन्न स्थानको जमातबाट फर्किएका आठ जना गरी नौ जनाको स्वाब परिक्षणको प्रतिवेदन नेगेटिभ आएको थियो । यी नौ जनाको गत २१ गते थ्रोट स्वाबको परीक्षण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।