राजन रावत
सिमकोट, चैत २७ गते । खाद्यान्न समस्या हुने हुम्ला जिल्लामा आगमी असारसम्म पुग्ने खाद्यान्न मौज्दात भएको छ । बन्दाबन्दीका बिच एक हप्तायता हवाई मार्गबाट तीब्र रुपमा खाद्यान्न ढुवानी कार्य हुदा गोदाममा खाद्यान्न मौज्दातको अबस्था राम्रो भएपछि असारसम्म खाद्यान्न समस्या नहुने भएको हो ।
नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाका प्रमुख राम बहादुर बिष्टले नयाँ ढुवानी भएको र पुरानो खाद्यान्म मौज्दातको अबस्था हेर्दा आगामी असार महिनासम्म अब खाद्यान्न समस्या नहुने बताउनुभयो । बुधबारसम्म नेपालगंज र सुर्खेतबाट एक हजार ९५६ क्वीन्टल बीस केजी खाद्यान्न नयाँ ढुवानी भएको छ । अझै ढुवानी हुने क्रम जारी रहेको छ । हुम्लाबासीको मागलाई ध्यान दिदै सरकारले गत बुधवारदेखि हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु गरेको थियो ।
बन्दाबन्दीसंगै हवाई मार्गबाट ढुवानी हुदा दैनिक दुई सय देखि तीन सय क्वीन्टल खाद्यान्न जिल्लामा भित्रिने गरेको छ । प्रमुख बिष्टले पछिल्लो खाद्यान्न ढुवानी भएपछि खाद्यान्न मौज्दात पनि बृद्धि भएको छ । यसअघि लिमिटेडको गोदाममा दुई हजार ९६९ क्वीन्टल ७८ केजी खाद्यान्न मौज्दात थियो । अब अहिले ढुवानी भएको खाद्यान्न मौज्दात जोड्दा लिमिटेडसंग चार हजार ९२८ क्वीन्टल ९८ केजी खाद्यान्न मौज्दा रहेको छ । दुई दिन अगाडी गोदामबाट क्वारेन्टाइन र भै परि आउनेका लागि नौ क्वीन्टल खाद्यान्न बितरण गरिएको थियो ।
अब गोदाममा मौज्दात खाद्यान्नले असार महिनासम्म बिक्री बितरणका लागि पुग्ने लिमिटेटले जनाएको छ । हाललाई हवाई मार्गमा एयरलाईन्सहरुले दुई हजार पाँच सय क्वीन्टल खाद्यान्न ढुवानी गर्नेछन् । तारा, सीता र समिट एयरका जहाजहरुले खाद्यान्न ढुवानी गर रहेका छन् । संभाबित कोरोना संक्रमणका कारण देशमा बन्दाबन्दी सुरु भएपछि खाद्यान्न ढुवानी गर्ने कार्य रोकिदा लिमिटेडको गोदाममा खाद्यान्न मौज्दात न्यून हुने देखिएपछि जिल्लाबाट सरकारलाई खाद्यान्न ढुवानीको ब्यबस्था गर्न माग भएको थियो । सरकारले हुम्लाका लागि हवाई मार्गबाट अझै दुई हजार क्वीन्टल खाद्यान्न थप्ने भएको छ ।