logo
२०८१ मंसिर ११ मंगलवार



कोरोना विशेष अस्पतालमा भेन्टिलेटरसहितको आई.सि.यू सेवा सुरु

खुला |


कोरोना विशेष अस्पतालमा भेन्टिलेटरसहितको आई.सि.यू सेवा सुरु


टीकाबहादुर बस्नेत
दाङ, चैत २७ गते । कोरोना विशेष अस्पताल बेलझुण्डीमा भेन्टिलेटरसहितको आई.सी.यू. सेवा सुरु भएको छ । कोरोनाको उच्च जोखिममा दाङ पनि पर्ने कोरोना विशेष अस्पतालमा भेन्टिलेटरसहितको आई.सी.यू सेवा सुरु गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समितिका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो ।

कोरोना भाइरसका बिरामीको उपचारलाई मध्यनजर गर्दै ५ बेडको आई.सी.यू., २ वटा भेन्टिलेटर र ३ वडा मनिटर जडान गरेको भन्दै सूचना अधिकृत चन्दले हालसम्म आई.सी.यू. मा राख्नुपर्ने अवस्थाका कुनै पनि बिरामी नरहेको जानकारी दिनुभयो । राप्ती प्रादेशीक अस्पतालमा रहेका सामग्री लिएर आई.सी.यू. बेड सञ्चालनमा ल्याइएको चन्दले जानकारी दिनुभयो । ‘आई.सी.यू. सञ्चालनका लागि सामग्री खरिद गर्न खोलिएको टेण्डरमा मूल्य उच्च रहेकाले उक्त टेण्डर रद्द गरी पूनः टेण्डर खोलिदैछ’, चन्दले भन्नुभयो, ‘राप्ती प्रादेशीक अस्पतालमा रहेका सामग्री लिएर भेण्टिलेटरसहितको आई.सी.यू. सञ्चालनमा ल्याइएको छ ।’


कोरोना भाइरसको आशंकामा २० जनाको स्वाब परिक्षणका लागि काठमाडौँ पठाइएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेसनमा रहेका दाङका १५ र प्यूठानका ५ जनाको नमुना संकलन गरी काठमाडौँ पठाइएको चन्दले जानकारी दिनुभयो । भैरहवास्थित प्रदेशस्तरिय कोरोना परिक्षण प्रयोगशालामा ढिलाइ हुने भएकाले नमुना परिक्षणका लागि काठामाडौँ पठाइएको चन्दको भनाइ छ ।


आइसोलेनमा भर्ना भएकामध्ये एक जना राप्ती प्रादेशीक अस्पतालमा कार्यरत कर्मचारीसमेत रहेको कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिनुभयो । भारतलगायत अन्य मुलुकबाट आएका २० जनामा कोरोना भाइरसको आशंका गरी स्वाब परिक्षणका लागि पठाइएकोमा शुक्रबार रिपोर्ट आउने डा. शर्माले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमित युवासँगै आएका युवाको खोजी तीब्र


धनगढीका कोरोना सङ्क्रमित युवासँगै कैलालीको गौरीफन्टा नाकाबाट आएका दाङका २ जनाको खोजी कार्य जारी रहेको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । गत चैत १२ गते गौरिफण्टा नाका हुँदै जिल्ला भित्रिएका १० जनामध्ये २ जना अझै फेला नपरेको चन्दले जानकारी दिनुभयो । ८ जना युवालाई कोरोना विशेष अस्पतालमा राखिएको भन्दै चन्दले अन्य २ जनाका परिवारले घर आई नपुगेको जानकारी दिएको बताउनुभयो ।
प्रहरीलाई मास्क र ग्लोब्स प्रदान


विश्वब्यापी महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसको महामारीबाट प्रहरी प्रशासनलाई बचाउन मास्क र पञ्जा बितरण गरिएको छ । दाङका युवा व्यवसायी बालकुमार घर्ती मगर र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीले जिल्ला प्रहरी प्रमुख जनक भट्टराईलाई बिहीबार मास्क र ग्लोब्स हस्तान्तरण गर्नुभएको हो ।


नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको पहलमा जिल्ला प्रहरी कार्यालय दाङलाई मास्क र ग्लोब्स उपलब्ध गराइएको हो । कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउन नेपाल सरकारले सुरु गरेको लकडाउनलाई सफल बनाउन अहोरात्र खटिदै आएको प्रहरी प्रशासनलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन मास्क र ग्लोब्स उपलब्ध गराएको व्यवसायी घर्ती मगरले जानकारी दिनुभयो ।


युनाइटेड साइन्टिफिक एण्ड सर्जिकल हाउस प्रा.लि.को तर्फबाट जिल्ला प्रहरी कार्यालयलाई २ हजार प्रति इक्जामिनेशन ग्लोब्स् र २ सय प्रति नन ओभन मास्क उपलब्ध गराएको व्यवसायी घर्ती मगरले जानकारी दिनुभयो । ‘बजारमा मास्क र ग्लोब्स विना ड्यूटी गरिरहेका प्रहरीहरुलाई देख्दा उहाँमा कोरोनाको उच्च जोखिम रहने आशंकाले हामीले मास्क र ग्लोव्स उपलब्ध गराएका हौं’, प्रालिका सञ्चालक समेत रहनुभएका घर्ती मगरले भन्नुभयो, ‘जोखिमपूर्ण काममा अहोरात्र खटिने प्रहरी प्रशासनप्रति सम्मान प्रकट गर्दै सानो सहयोग प्रदान गरेका हौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?