भैरहवा समाचारदाता
भैरहवा, चैत २९ गते । भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सशस्त्र प्रहरी बल रुपन्देहीले सीमा क्षेत्रमा निगरानी बढाएको छ । भारतसँग सीमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकालाई पूर्णरुपमा शिल गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले सीमा क्षेत्रमा २२ वटा पिकेट र पाँचवटा मोवाइल भ्यानले २४ सै घण्टा गस्ती गरिएको बताउनुभयो ।
“नेपालबाट खुला सीमाको कारण मानिसहरु भारत जान खोज्नु र भारतबाट नेपालतर्फ आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ”–सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो ।
नेपाल–भारत आवतजावतलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनबिना मानिसहरुलाई सशस्त्र प्रहरी बलले पूर्णरुपमा बन्द गरेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताउनुभयो । जिल्लाका सरकारी अस्पताल र आइसोलेसन अस्पताल क्षेत्रको समेत सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले जनाएको छ ।
जिल्लाका सरकारी अस्पताल र आईसोलेसन क्षेत्रको समेत सशस्त्र प्रहरीले सुरक्षा दिईरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले बताएको छ । सशस्त्र प्रहरी बलको रुपन्देहीमा एउटा गण, तीनवटा गुल्म, चारवटा बोर्डर आउटपोष्ट र पाँचवटा बेसमा करिव छ सय जनशक्ति रहेको छ ।