logo
२०८१ मंसिर ११ मंगलवार



लमजुङमा दिनदिनै डढेलो

खुला |


लमजुङमा दिनदिनै डढेलो


बेलिना थापा
लमजुङ, चैत २९ गते । गर्मीयाम सुरु भएसंगै लमजुङमा वन डढेलोको घटना बढ्न थालेको छ । पछिल्लो समय दिनैपिच्छे जस्तो आगलागीका घटना हुने गरेको छ । आगलागीबाट मानवीय क्षति समेत हुने गरेको छ ।

चैत महिनाको अवधिमा मात्र लमजुङका १० वटा वनमा डढेलो लागेको डिभिजन वन कार्यालयसंग तथ्यांक छ । अधिकांश वन डढेलोको घटना वन कार्यालयसम्म पुग्न नसकेको स्थानीय बताउँछन् । चैत महिनामा मात्रै ६४ हेक्टर सामुदायिक वन सखाप भएको छ । नागरिकले आफ्नो खेतबारी तथा पाखा जग्गामा आगो सल्काएको बेलामा सामुदायिक वनमा आगलागी भएको पाइएको वन कार्यालयका अधिकारीहरु बताउँछन् ।

पछिल्लो समय चैत २८ गते दोर्दी गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने केराबारी सामुदायिक वनमा आगलागी हुँदा मात्रै एकै परिवारका ४ जना घाइते भए । दूधपोखरी गाउँपालिका ६ ओखरीका २८ बर्षीया हरिमाया गुरुङ, १७ बर्षीया पूजा गुरुङ, १० बर्षीय रश्मी गुरुङ र ५ बर्षीया बालिका अश्मी गुरुङ घाइते लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकी हरिमाया र रश्मीलाई काठमाडौं पठाइएको छ । २ जनाको लमजुङमा उपचार भइरहेको छ । यसअघि माघ १८ गते क्व्होलासोंथर गाउँपालिका ९ टक्सारको च्ह्योंगे भीरमा लागेको डढेलोमा परी वडा नम्बर ८ घाम्राङकी ३५ बर्षीया ज्योति परियारको मृत्यु भएको थियो ।

चैत ४ गतेदेखि २८ गतेसम्मको तथ्यांक अनुसार लमजुङका ९ वटा सामुदायिक वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय लमजुङका अनुसार चैत ४ गतेदेखि वनमा डढेलो लागेको छ । त्यसअघिको आगलागीका घटना वन कार्यालयमा आएको छैन । चैत ४ गते बेंसीसहर नगरपालिका ६ स्थित पुमाभीरमा आगलागी भएको थियो । ४ हेक्टर वनका रुखविरुवा नष्ट भएको छ । सोही दिन बेंसीसहर नगरपालिका २ स्थित तिरेपानी सामुदायिक वनमा ढडेलो लागेको लाग्दा ५ हेक्टर वन जलेर नष्ट भएको थियो ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार चैत ५ गते बेंसीसहर नगरपालिका ६ चण्डीस्थानको भोटेचौर पालेको सामुदायिक वनमा आगलागी हुँदा ५ हेक्टर वन जलेको स्थानीयले बताएका छन् । चैत १७ गते दोर्दी गाउँपालिका ४ स्थित केराबारी सामुदायिक अवनमा आगलागी भएकोमा कति क्षति भयो भनेर एकीन तथ्यांक आएको छैन । चैत २४ गते सुन्दरबजार नगरपालिका १ स्थित पात्ले सामुदायिक वनमा आगालागी भएकोमा करिव १५ हेक्टर वन जलेर सखाप भएको थियो ।

सोही दिन बेंसीसहर नगरपालिका ६ स्थित पुमाभीरमा आगलागी भएकोमा ५ हेक्टर वन जलेर सखाप भएको थियो । २५ गते नै मध्यनेपाल नगरपालिका १ को कीर्तिपुर सामुदायिक वनमा डढेलो लागेकोमा करीब करिव १ हेक्टर वन सखाप भएको थियो । चैत २६ गते कीर्तिपुरमै आगलागी हुँदा १५ हेक्टर वनमा क्षति पुगेको छ । सोही दिन मध्यनेपाल नगरपालिका १ को बागदेवी सामुदायिक वनमा आगलागी हुँदा १ हेक्टर वन सखाप भएको छ । त्यही दिन राइनास नगरपालिका ६ को आँपचौर सामुदायिक वनमा आगलागी हुँदा ८ हेक्टर वन आगोले जलेको छ । चैत २७ गते राइनास नगरपालिका ६ को सिमचौर नारिनघाट सामुदायिक वनमा आगलागी हुँदा ५ हेक्टर जंगल नष्ट भएको छ ।

वनको आगो नियन्त्रणका लागि प्रहरी, सव डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय लागेका छन् । कुनै ठाउँमा ठुलो मात्रामा आगलागी भएकाले नियन्त्रणमा कठिनाई भएको डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?