गण्डकी समाचारदाता
पोखरा, चैत २९ गते । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि गण्डकी प्रदेशमा चार हजार बढीको कोरोना परीक्षण सुरु गरिएको छ । संघीय सरकारको निर्णय अनुसार बागलुङमा विदेशबाट आएका र संक्रमितको सम्पर्कमा आएका र अन्य जिल्लामा विदेशबाट आएकाको ¥यापिड टेस्ट सुरु गरिएको हो ।
गण्डकी प्रदेशभित्र चैत ४ गतेपछि नेपाल आएका चार हजार १४६ जना विभिन्न क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाले उनीहरु सबैको ¥यापिड टेस्ट किटमार्फत परीक्षण सुरु गरिएको गण्डकी प्रदेशका जनस्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो । बागलुङमा १४ जना स्वास्थ्यकर्मीको टोली खटाएर बिहीबारबाटै ¥यापिड टेस्ट सुरु गरिएको छ । बागलुङमा बिहीबार १२ जना र शुक्रबार ८० जनाको टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशक शर्माले जानकारी दिनुभयो ।
देश लकडाउनको अवस्थामा रहेकाले बाहिरबाट मानिसहरु आउने सम्भावना नभएको रआइहालेपनि स्थानीय तहले अनिवार्य क्वारेन्टाइनमा बस्न लगाउने गरेकाले जिल्ला स्थित जनस्वास्थ्य कार्यालयको नेतृत्वमा स्थानीय तहमा सबैलाइ पायक पर्ने ठाउँबाट सबैको नमूना परीक्षण गर्ने तयारी गरिएको छ । ¥यापिड टेस्ट किटबाट परीक्षण गरिएको नमूनामा पोजेटिभ आएमा पुन पिसिआर मेसिनमार्फत परीक्षण गर्ने प्रबन्ध मिलाइएको छ ।
१५ मिनेटभित्र नतिजा आउने उक्त किटको प्रयोग गर्दा धेरै भन्दा धेरै व्यक्तिको सहज रुपमा परीक्षण गर्न सकिने जनस्वास्थय कार्यालय बागलुङका स्वास्थ्यकर्मी देवप्रसाद घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार बागलुङमा सबै स्थानीय तहमा पायक पर्ने ठाउँमा स्वास्थ्यकर्मी पुगेर परीक्षण गरिनेछ ।
गण्डकी प्रदेशमा पाँच हजार किटहरु प्राप्त भएकाले विदेशबाट आएका सबै व्यक्तिहरुको नमूना परीक्षण गरिने जनाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको लक्षण विनानै संक्रमण देखिएकाले सचेत भएर विदेशबाट आएका र उनीहरुसँग निकट भएकाहरुको छिटो भन्दा छिटो परीक्षण गर्नुपर्ने बताउनुभयो । ‘हामीले सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउनेलाई कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने मान्छौ, तर नेपालमा देखिएका कोरोना भाइरस संक्रमितहरुमा यस्तो संकेत नदेखिएकाले चुनौती थपिएको छ, अब सम्भावित सबैको स्वास्थ्य परीक्षण गरेर अगाडि बढ्नुपर्छ ।’ गुरुङले भन्नुभयो ।
गण्डकी प्रदेशबमा दुई वटा पिसिआर मेसिन जडान गरी कोरोना भाइरसको स्वाब परीक्षण गरिरहेकाले त्यसलाई पूर्ण क्षमतामा परीक्षण गर्ने तयारी गरिएको छ । शुक्रबारसम्म प्रदेशभरीबाट ३१८ वटा नमूना संकलन गरिएकोमा ३०० को परीक्षण सकिएको र १८ जनाको परीक्षण बाँकी रहेको र शुक्रबार र शनिबार थप ८० वटा नमूना संकलन गरी परीक्षणकै क्रममा रहेको जनाइएको छ ।
संक्रमितको दोस्रो रिपोर्टपनि पोजेटिभ
यसैबीच नेपालको नवौ कोरोना भाइरस कोभिड १९ संक्रमित बागलुङकी एक महिलाको दोस्रो रिपोर्टपनि पोजेटिभ आएको छ । बुधबार दोस्रो परीक्षणका लागिस्वाब पठाइएकोमा पुनः पोजेटिभ देखिएकाले उहाँको अस्पताल बसाइ केही समय लम्बिने भएको छ । कोरोना संक्रमितहरुको नियमित स्वाब संकलन गरी परीक्षण गरिने र नेगेटिभ रिपोर्ट नआएसम्म अस्पतालमै राखेर उपचार गरिन्छ ।
गोरखापत्रकर्मीाको सहयोग
गोरखापत्र दैनिकका स्याङ्जा समाचारदाता अर्जुन काफ्लेले अर्जुनचौपारी गाउँपालिकाले स्थापना गरेको आकस्मिक कोषमा १० हजार रुपियाँ सहयोग गर्नुभएको छ । अर्जुनचौपारी गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारकालागि स्थापना गरिएको कोषमा सो रकम सहयोग गर्नुभएको हो ।
कोरोना भाइरसबाट स्याङ्जा अहिलेसम्म सुरक्षित
स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार बिश्व नै कोरोना भाइरसका कारण समस्यामा रहदाँ स्याङ्जा जिल्ला भने अहिलेसम्म सुरक्षित देखिएको छ । स्याङ्जामा एक ६६ जनाको स्वाब परिक्षण गरीएकोमा सबैको नजिता नेगेटिभ आएको हो । जिल्लाका चैत्र २ गते यता कतार एयरलाइन्स, अरेबियन एयरलाइन्स सहित विदेशबाट आएकाहरु र परिवारका साथै कोरोना भाइरसको आशंका गरिएकाहरु कुल एक सय ६६ जनाको स्वाब परिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताउनुभयो ।
निजी अस्पताललाई पिपिई सहयोग
तनहुँ समाचारदाता अमरराज नहर्कीका अनुसार व्यास नगरपालिकाले नीजि क्षेत्रबाट दमौलीमा सञ्चालित ४ अस्पताललाई पि.पि.ई हस्तान्तरण गरेको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को जोखिम न्युनिकरणका लागि अस्पतालमा कार्यरत डाक्टरहरुलाई सहयोग पुगोस भन्ने उदेश्येले पि.पि.ई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले एपोलो अस्पताल, रत्नहरी अस्पताल, व्यास नगर अस्पताल र समाधान अस्पतालका प्रतिनिधिलाई व्यास नगरपालिकामा उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।
आगलागीमा परेर एकै परिवारका चार घाइते
लमजुङमा भएको आगलागीमा परेर एकै परिवारका चारजना घाइते भएका छन् । दोर्दी गाउँपालिकाको वडा नम्बर ३ स्थित केराबारी सामुदायिक वनमा लागेको आगोमा परी ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
श्रीमन्ञ्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुकजीत घलानकाअनुसार आगलागीमा परेर दूधपोखरी गाउँपालिका ६ ओखरीका २८ बर्षीया हरिमाया गुरुङ, १७ बर्षीया पुजा गुरुङ, १० बर्षीय रश्मी गुरुङ र ५ बर्षीया बालिका आश्मी गुरुङ घाइते भएका छन् ।