logo
२०८१ मंसिर ११ मंगलवार



भारतबाट आएकाहरुको स्वाब परीक्षण

खुला |


भारतबाट आएकाहरुको स्वाब परीक्षण


कर्णाली व्यूरो
भारतलगायत तेस्रो मुलुकबाट सल्यान आएका ४३ जनाको स्वाब परीक्षण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को शंकास्पद मानिएका व्यक्तिको स्वाब परीक्षण गरिएका हो ।
परीक्षण गरिएका ४३ जना मध्ये अहिलेसम्म तीन जनाको रिपोर्ट नेगेटिभ आएको छभने बाँकीको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन वुढाले चैत १ गते यता तेस्रो मुलुकबाट आएका सबै र भारत तथा अन्तरजिल्लाबाट आएका मध्ये शंंकास्पद ४३ जनाको स्वाब संकलन गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा संकलन गरिएका स्वाब परीक्षणका लागि कर्णाली प्रदेश अस्पतालको प्रयोगशाला सुर्खेतमा पठाइएको छ ।

स्वाब पठाइएका मध्ये वागचौर नगरपालिकावाट ११ जना, कपुरकोटबाट ११ जनाको र त्रिबेणीवाट दुई जना, दार्मागाउँपालिकामा १० जना, जिल्ला अस्पतालबाट दुई, शारदा नगरपालिकावाट एक जना, कुमाख गाउँपालिकामा तीन जनाको स्वाव संकलन गरिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । जिल्ला अस्पताल सल्यानवाट यस अघि पठार्ईएका तीन ब्यक्तिको स्वाब भने नेगेटिभ आएको छ । शारदा नगरपालिकाले क्वारेन्टाइनमा रहेका दुई जनाको प्रारम्भिक रगत जाँच गर्दा नेगेटिभ नतिजा आएपछि घर फर्काइएको छ ।

परीक्षण गरिएका सवैको नेगेटिभ


खलङ्गा, चैत ३० गते । जाजरकोटबाट स्वाब संकलन गरी परीक्षणका लागी सुर्खेत पठाइएका १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । होम क्वारेन्टाइनमा बसेकाहरुबाट १४ जनाको कोरोना संक्रमण परीक्षण गर्न जाजरकोटबाट पहिलो पटक स्वाब संकलन गरी गत विहीवार सुर्खेत पठाइएको थियो ।
जिल्ला अस्पतालका महामारी फोकलपर्सन एवं ल्याव टेक्निसियन कृष्णबहादुर खत्रीले परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले भेरी नगरपालिकाको क्वारेन्टाइनमा बसेका दुई जना, भारत तथा तेस्रो मुलुकबाट आएका १२ जनाको स्वाब संकलन गरेर लगेको थियो । विदेशबाट आएका तथा मिल्दोजुल्दो लक्षण देखिएकाहरूको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका मध्ये दुई जनामात्रै क्वारेन्टाइनमा बसेका थिए ।


स्वाब संकलनका लागि प्रदेश अस्पताल सुर्खेतबाट आएका ल्याव टेक्निसियन भरत देवकोटा नेतृत्वले जाजरकोट अस्पतालका ल्याव टेक्निसियनहरुलाई शंकास्पदको नुमना संकलन गर्ने विधि र स्वाब संकलनका लागि आबश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) समेत उपलव्ध गराउनुभएको थियो ।


अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले स्थानीय तहसँग समन्वय गरेर तत्काल थप शंकास्पदको स्वाब संकलन गरी सुर्खेत पठाइने जानकारी दिनुभयो । जिल्लामा भारतलगायतका तेस्रो मुलुक र देशका विभिन्न शहरबाट लकडाउनको अवधिमा करिब पाँच हजार मानिसहरु जिल्लामा भित्रिएकोले स्वाब संकलन कार्यलाई व्यापकरुपमा अगाडि बढाउन स्थानीयले माग गरेका छन ।

विपद् कोष स्थापना


 कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विपद् सामना गर्न जिल्लाका सात वटै पालिकामा विपद् कोष स्थापना गरिएको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेका यस जिल्लामा सबैले छुट्टाछुट्टै विपद् कोष बनाएर रकम जम्मा गर्न थालेका हुन् ।
नलगाड नगरपालिकाले २१ लाख, छेडागाड नगरपालिकाले ३५ लाख र भेरी नगरपालिकाले ९० लाख बजेट कोषमा राखेका छन् । यसैगरी जुनिचाँदे गाउँपालिकाले १० लाख, बारेकोट गाउँपालिकाले २० लाख, शिवालय गाउँपालिकाले २० लाख र कुशे गाउँपालिकाले ३० लाखको कोष स्थापना गरेका छन् ।
यस्तै पालिकाले विभिन्न व्यक्ति, व्यवसायी तथा सरोकारवालाले पनि कोषमा रकम जम्मा गर्न थालेका छन् । जुनिचाँदे गाउँपालिकाले जनप्रतिनिधिको तलब, विपत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । नलगाड नगरपालिकाले कर्मचारीहरुको तहगत रुपमा कम्तिमा पाँच दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेको छ ।
नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले कोषको रकमलाई महामारीका बेला समस्यामा परेका जनताको उपचार तथा सहयोग एवं उपचारका लागि खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाइ प्रोत्साहन भत्ता दिन खर्च गरिने जानकारी दिनुभयो ।
बारेकोट गाउँपालिकाले कार्यपालिकाको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण बिपद व्यवस्थापन कोष–२०७६ मा पालिका तथा वडा कार्यालयमा कार्यरत सबै कर्मचारी तथा शिक्षकबाट तहगत रुपमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?