शिवशंङ्कर मिश्र ।
बारा, चैत ३० गते । पर्साको वीरगंजमा तीन जनामा कोरोना संक्रमण देखिएपछि बारा जिल्लाको सबै स्थानीय तहमा प्रहरी प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
विना काम बाहिरको व्यक्ति गाउँटोलमा आउन जान नदिन महागढीमाई नगरपालिकाको वडा नम्बर ३ र १० गंजभवानीपुरमा मुल बाटो बन्द गरिएको छ ।
साताको दुई दिन सो ठाउँमा लाग्ने हाट बजार पनि पूर्ण रुपमा बन्द गरिएको वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्रप्रसाद जैसवालले बताउनुभयो ।
छिमेकी जिल्ला पर्सामा तीनजना भारतीय नागरिकलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै गाउँका युवाको सहभागितामा एम्बुलेन्स, दमकल, खाद्यान्न, दुधलगायत अतिआवश्यक गाडी छोडेर मोटरसाईकल तथा अन्य सवारी साधनलाई गाउँ भएर बाहिर जाने र आउनेलाई पूर्ण रुपमा बाटो बन्द गरी प्रवेश निषेध गरिएको वडा नम्बर १० का वडा अध्यक्ष चन्दनकुमारले बताउनुभयो ।
सञ्चार मन्त्रालयले वीरगंजको नारायणी अस्पतालको आईसोलेशनमा रहेका ३ जना भारतीय जमातिलाई कोरोना संक्रमण भएको औपचारिक पुष्टि गरेसँगै वीरगंजमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ ।