यलु जोशी
काठमाडौँ, वैशाख १ गते । बिस्काः अर्थात् बिस्केट जात्राको प्रमुख आर्षकणका रूपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो (ल्योसिं)को औपचारिक रूपमा पूजाअर्चना मात्र गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को त्रासले सम्पूर्ण विश्व नै त्रसित भएको तथा सरकारले लगाएको बन्दाबन्दी (लकडाउन)का कारण विस्काः जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भेलुखेल ल्योसिंखेलमा ठड्याइएन । संस्कृतिविद् गणेश लाछीले यो वर्ष विस्काः जात्राको कुनै पनि उत्सव नभएर औपचारिक पूजाआजामा सीमित भएको छ भन्नुभयो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन भए पनि यो वर्ष औपचारिक मात्र हुनेछ । लिच्छवि कालदेखि यो जात्रा सुरु भएको मानिन्छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतीले विस्काः जात्राको मूल जात्रा तथा टोल टोलमा हुने ‘तिप्वा जात्रा’, ‘खः ल्वाकेगु जात्रा’, ‘द्यो स्वगं वियगु जात्रा’ लगायतका अन्य जात्रासमेत औपचारिक पूजाआजामा सीमित गर्ने निर्णय भएको जानकारी दिनुभयो । विक्रम संवत् अनुसार सौर्यमासको आधारमा मनाइने बिस्काः जात्रा बिःसीत अर्थात् नागनागिन मरे भन्ने भावका आधारमा लिच्छवि कालदेखि मनाइँदै आएको संस्कृतविद् सत्यमोहन जोशीले बताउनुभयो । नेपाल संवत् २६८ अर्थात् लिच्छवि कालभन्दा अगाडिको यो जात्रालाई मल्ल राजा जगत्ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रालाई अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएका हुन् । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण जात्रा पर्वमा असर पु¥याए पनि यसमा दुःखी नहुन इतिहासविद् जोशी आग्रह गर्नुहुन्छ । उहाँले जीवन भए जात्रा पर्व पनि बचाउन सकिन्छ तर आफ्नो जीवन नै नभए कसरी संरक्षण गर्न सकिन्छ भन्नुभयो ।
बिस्काः जात्रा यसरी औपचारिक पूजाआजामा मात्रै सीमित भएको यो पहिलो पटक भने होइन । संस्कृतिविद् ओम धौभडेलका अनुसार नेपाल संवत् ७८०–७८१ मा काठमाडौँका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गर्दा पनि यस्तै भएको थियो । उहाँ युद्धको समय भएकाले मानिस आफ्नो देश रक्षाका लागि युद्धमा होमिए । घरको ढोकामा बसेर छेके । त्यसैले त्यो समयमा बिस्काः जात्रामा भैरवको रथ तानिएन भन्नुहुन्छ । चैत अन्तिम दिन भेलुखेलमा इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्थ्यो ।