शिवशंङ्कर मिश्र
बारा, बैशाख १ गते । सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गणले बारा जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउदै कडा निगरानी बढाएको छ । जिल्लामा रहेको सम्पूर्ण सशस्त्र प्रहरीको जनशक्ती कोभिड–१९ नियन्त्रणको लागि छिमेकी राष्ट्र भारत नेपालको दशगाजा क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले बताउनु भयो ।
स्थानीय तहहरुसँग समन्वयगरी सीमा नजिकै रहेका स्थानीयहरु ओहोरदोहोर नगरोस् भनी दशगाजामा निगरानी समिती मार्फत चेकजाच कार्य अगाडी बढाईएको उहाँले भन्नुभयो । प्रहरीले बारा जिल्लाको भारतसगँ जोडिएको साना गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी बढाइएको छ।
सीमा नाका बाहेक पनि प्रत्येक पाँच सय मिटरदेखी सात सय मिटर सम्ममा नियमित जनशक्तीको गस्ती भन्दा दोब्बर सँख्यामा हालका दिनमा सशस्त्र प्रहरी खटाएर आवत जावत रोकिएको गणका गणपती सुवेदीले जानकारी दिनुभयो ।
बारा जिल्लाको पश्चिम पर्सा तथा पूर्व रौतहट जिल्लासम्म ६० किलोमिटर सीमा रहेको दशगजा क्षेत्रमा मात्र ९० भन्दा बढी स्थानहरुमा सशस्त्र प्रहरीको उपस्थती रहेको छ । सो सीमा नाकामा पहिला ७ वटा बिओपी कार्र्यालय मार्फत निगरानी गर्दै आएकोमा अहिले थप ११ वटा सशस्त्र प्रहरीको पोष्ट निर्माणगरी सीमा क्षेत्रमा सशस्त्र प्रहरीको फौज परिचालन तिब्र बनाईएको उहाँले बताउनुभयो ।
खुल्ला सीमा भएकाले भारतबाट नेपालमा कोरोना भाईरसको संक्रमण भएको ब्यक्तिलाई रोक्नका लागि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल तथा साइकल गस्ती लगायतका माध्यमबाट सीमाको निगरानी गरिरहेका छन् । सो क्षेत्रमा स्थानीय तहले पनि बिभिन्न प्रकारको जनचेतना मूलक सूचना दिने कार्य गर्ने गरेका छन् ।